नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालित प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सोमबार विशेष समारोहबीच सम्पन्न भएको छ ।
भावी कार्यदिशा तय गर्न सम्मेलन उपयोगी
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक तथा व्यवहारिक ज्ञान, दक्षता, अनुभव, दृष्टिकोण र सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको बताउनुभयो ।
प्रविधिजन्य अपराध नियन्त्रणमा नागरिक सहयोग आवश्यक
प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको माध्यमबाट सिर्जित अपराध तथा अपराध अनुसन्धानमा देखा परेका नवीन चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रणका लागि नागरिकको रचनात्मक सहयोगको आवश्यकता औंल्याउनुभयो ।
नीति, रणनीति र क्षमता अभिवृद्धिमा मार्गदर्शन
सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरूले आगामी दिनमा नेपाल प्रहरीको नीति, रणनीति, कार्यदिशा निर्धारण, क्षमता अभिवृद्धि, प्रशिक्षण तथा वृत्ति विकासमा मार्गदर्शक भूमिका खेल्ने उहाँले बताउनुभयो ।
नागरिकमैत्री र उत्तरदायी प्रहरीतर्फ अग्रसरता
सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बनाउन प्रेरणा दिएको तथा संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तर सुधार र नागरिकको प्रहरीप्रतिको विश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विविध क्षेत्रका विज्ञहरूको सहभागिता
सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्मेलनको महत्वमाथि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सम्मेलनका गतिविधि समेटिएको भिडियो सामग्री प्रस्तुत गरिएको थियो । समारोहमा नेपाल प्रहरीका वरिष्ठ तथा अवकाश प्राप्त अधिकृतहरू, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, सञ्चारकर्मी, विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थी तथा आमन्त्रित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सुरक्षा, प्रविधि र मानवस्रोत व्यवस्थापनमा विस्तृत छलफल
सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती, अपराधका पारम्परिक र नवीन प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, नागरिक–प्रहरी सम्बन्ध, मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापन तथा सडक सुरक्षा प्रवर्द्धन लगायतका विषयमा व्यापक छलफल र अन्तरक्रिया गरिएको थियो ।
सम्मेलनका मुख्य उद्देश्य
नेपाल प्रहरीको दीर्घकालीन दृष्टि र रणनीतिक लक्ष्य निर्धारण, संगठन संचालनको समीक्षा, कार्यकुशलता अभिवृद्धि, सेवा प्रवाह सुधार तथा जनअपेक्षाअनुसार सुधारका उपाय पहिचान गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको थियो ।










































