आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले फागुन २१ लाई सामान्य रूपमा बुझ्नु हुँदैन : प्रचण्ड

निर्वाचन असाधारण परिस्थितिमा भएको दाबी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन् ।

निर्वाचन विशेष कार्यक्रम तथा भेलामा सम्बोधन

निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे ।

फागुन २१ को निर्वाचन सामान्य नभएको प्रचण्डको भनाइ

‘हामी निर्वाचनतिर अघि बढ्दैछौं । यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन होइन,’ उनले भने, ‘असाधारण परिस्थितिमा आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले यसलाई सामान्य रूपमा बुझ्न हुँदैन ।’

जेनजी आन्दोलन र २४ भदौपछि देश संकटमा

उनले जेनजी आन्दोलन र २४ भदौको घटनापछि देश गम्भीर संकटमा परेको भन्दै उक्त संकटबाट देशलाई बाहिर निकाल्ने प्रक्रियाका रूपमा निर्वाचन आएको बताए । प्रचण्डले निर्वाचन प्रक्रिया सफल बनाउन राष्ट्रमा नयाँ शक्ति र नयाँ एकताको आवश्यकता महसुस गरिएको बताए ।

प्रतिक्रियावादी र वैदेशिक चलखेलविरुद्ध नयाँ पहल आवश्यक

सबै प्रकारका प्रतिक्रियावादी शक्ति तथा वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्न नयाँ पहल आवश्यक ठानेर नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो ।

२३ दल सहभागी भएको दाबी

उनले भने, ‘जेनजी आन्दोलनपछि २४ भाद्रको घटनापछि देश जुन संकटमा देखा पर्यो त्यो संकटबाट पार लगाउने एउटा प्रक्रियामा हामीसमेतको सहजिकरणबाट अन्तरिम सरकारले यो निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरुप यो निर्वाचन अगाडि आएको छ । यो निर्वाचन प्रक्रियालाई अगाडि बढाउनको लागि हामीले राष्ट्रमा एउटा नयाँ शक्तिको आवश्यकता, नयाँ एकताको आवश्यकता र सबै खाले प्रतिक्रियावादी र वैैदेशिक चलखेल र षडयन्त्रलाई परास्त गर्नको लागि एउटा नयाँ पहलकदमीको आवश्यकता महशुस गरेर नै हामीले नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढायौं । आजबाट यो संख्या २३ मा पुगेको छ ।’

उनका अनुसार उक्त प्रक्रियामा सहभागी दलहरूको संख्या हाल २३ पुगेको छ ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *