फागुन २१ : मतपेटिका भन्दा भारी जनआक्रोश, जनता प्रक्रिया होइन परिणाम खोज्दै

सम्पादकिय :-

फागुन २१ : मतपेटिका भन्दा भारी भएको जनआक्रोश

जनता लम्बे प्रकृया होइन परिणाम खोजी रहेका छ्न ।

जेन्जी आन्दोलन : आकस्मिक होइन, संचित आक्रोश

जेन्जी आन्दोलन कुनै आकस्मिक विस्फोट थिएन। यो वर्षौंदेखि थिचिएको आक्रोशको स्वाभाविक परिणाम थियो। टिकटकका लाइभदेखि सडकका नारासम्म फैलिएको यो आन्दोलनले एकैचोटि राज्य, दल र नेतृत्वलाई नाङ्गो बनाइदियो। यही आन्दोलनको धुवाँ भित्रै फागुन २१ को चुनाव घोषणा भयो ।

संवैधानिक बाध्यता बनाम जनमानस

चुनाव संवैधानिक बाध्यता हो भन्ने तर्क कागजमा ठिक होला तर जनताको मनोविज्ञान पढ्न नसक्ने सत्ता सधैंजसो संविधानभन्दा अघि पतन भएको इतिहासले देखाएको छ।

सुशिला कार्की नेतृत्व : पश्चात्ताप कि राजनीतिक चाल?

सुशिला कार्की नेतृत्वको सत्ताले ‘नैतिक पुनरुत्थान’ को आवरणमा बेच्ने प्रयास गर्नु हुन्न। अबको अवस्थामा यो नयाँ राजनीतिक दर्शनभन्दा पनि पुरानो प्रणाली जोगाउने फायर ब्रिगेड रणनीति जस्तो देखिनु हुन्न भन्नेमा जनताको चासो छ ।

हिजो कार्कीलाई अपमानजनक रूपमा बहिर्गमन गराउनेहरू नै आज उनको नाममा स्थायित्व खोजिरहेका छन् भने प्रश्न उठ्छ—के यो पश्चात्ताप हो, कि समय किन्न खोजिएको राजनीतिक चलाखी? जनताले अनुहारभन्दा नियत खोजिरहेका बेला प्रतीकात्मक नेतृत्वले कति टाढासम्म यात्रा गर्ला भन्नेमा गम्भीर शंका छ।

पुराना दलहरू : आफ्नै कर्मको ऐना

पुराना दलहरूको अवस्था भने आफ्नै कर्मको ऐनाजस्तै छ। गुट, भागबण्डा र नेतृत्व मोहले ग्रस्त यी दलहरू सार्वजनिक रूपमा चुनावको जयघोष गरिरहेका छन । तर भित्रभित्रै उनीहरू जितको गणित मिलाइरहेका छन्।

जेन्जी आन्दोलनका बेला बन्द कोठामा बसेर ‘स्थिति सामान्य छ’ भन्ने निष्कर्ष निकाल्ने नेतृत्व आज सडकबाट डराइरहेको देखिन्छ। इतिहास साक्षी छ ।२०६२/६३को जनआन्दोलनलाई बेवास्ता गर्ने राजा टिकेनन्। आज जनआक्रोशलाई हल्का लिने दलहरू पनि अपवाद हुने छैनन्।

नयाँ दलहरू : अवसरसँगै जोखिम

नयाँ दलहरूका लागि यो क्षण अवसर हो, तर यो अवसर आफैंमा जोखिमले भरिएको छ। आन्दोलनको ऊर्जा चुनावी मतमा रूपान्तरण गर्न संगठन, नीति र धैर्यता चाहिन्छ। जुन धेरै नयाँ दल र नेतृत्व सँग अझै अपूरो र कलिलो छ।

सामाजिक सञ्जालमा लोकप्रिय हुनु र राज्य चलाउन सक्षम हुनुबीचको दूरी नबुझ्दा, हिजोको आशा आजनै निराशामा बदलिन सक्छन्। परिवर्तनको नाममा अपरिपक्वता सत्तामा पुग्नु पनि नागरिकका लागि अर्को प्रयोगशाला बन्ने खतरा हो।

चुनाव बहिष्कार : अराजकता होइन चेतावनी

फागुन २१ को चुनाव हुन नदिने अभियानहरुलाई केवल अराजकता भनेर खारेज गर्नु सत्ता अहंकारको अर्को उदाहरण हो। यो अभियान सडकमा देखिएको असन्तुष्टि मात्र होइन, प्रणाली प्रतिको अस्वीकार पनि हो।

राजधानीका चोकमा मतपेटिका जल्ने चेतावनी र गाउँमा “पहिले सुधार, पछि चुनाव” भन्ने आवाजले स्पष्ट संकेत दिन्छ—जनता प्रक्रिया होइन, परिणाम खोजिरहेका छन्। इतिहासले बारम्बार देखाएको छ, जनभावनाविपरीत गरिएको चुनावले वैधता होइन संकट उत्पादन गर्छ।

निष्कर्ष : चुनावभन्दा ठूलो प्रश्न

अन्ततः फागुन २१ को प्रश्न चुनाव हुने–नहुने मात्र होइन। राज्यले नागरिकलाई सुन्ने कि फेरि एकपटक उपदेश दिने भन्ने हो।

जेन्जी पुस्ताले अब भाषण होइन, जवाफ खोजिरहेको छ। यदि सत्ता र दलहरूले यस चेतावनीलाई फेरि पनि नजरअन्दाज गरे भने, फागुन २१ इतिहासमा चुनावको मिति होइन, अर्को ठूलो राजनीतिक मोडको संकेतका रूपमा लेखिनेछ।

त्यस्तो नहोस शुभकामना ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *