नेपाल प्रवद्र्धनका लागि साझेदारी विषयक कार्यशाला सम्पन्न
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवद्र्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ ।
पर्यटन र सार्वजनिक कूटनीतिलाई सफ्ट पावरका रूपमा स्थापित गर्ने लक्ष्य
सार्वजनिक, आर्थिक र सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा पर्यटन र सार्वजनिक कूटनीतालाई नेपालको प्रभावकारी सफ्ट पावरका रूपमा स्थापित गर्न जोड दिइएको छ ।
विश्वसमक्ष नेपालको ब्रान्डिङका लागि आत्मविश्वासी स्टोरी–टेलिङ आवश्यक
कार्यशालालाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले पर्यटनलाई नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा मूर्त र प्रभावकारी अभिव्यक्ति भएको उल्लेख गर्दै विश्वसमक्ष नेपालको ब्रान्डिङका लागि आत्मविश्वासी, सुसंगत र प्रामाणिक ‘स्टोरी–टेलिङ’ अपरिहार्य रहेको बताए । उनले पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र समृद्धिमा ठोस योगदान पु¥याउने स्पष्ट पारेका छन् ।
पर्यटन प्रवद्र्धनमा संस्थागत समन्वय आवश्यक
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनमा सार्वजनिक कूटनीतिको प्रभावकारिता उल्लेख गर्दै संस्थागत समन्वय र सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
सरकारी र निजी क्षेत्रबीच सहकार्यमा जोड
उनले सरकारी निकाय, कूटनीतिक मिसन, निजी क्षेत्र र नीति अनुसन्धान संस्थाबीच साझा उद्देश्यसहित अघि बढेमा नेपाललाई दीर्घकालीन रूपमा बलियो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताए ।
कूटनीतिक नियोगसँग सहकार्यमा नेपाल प्रवद्र्धन गर्ने प्रतिबद्धता
काठमाडौं शुक्रबार सम्पन्न अन्तक्र्रियामा परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्री लगायत कूटनीतिज्ञले विदेशस्थित नियोगहरूमा बोर्डसँगको समन्वयमा नेपाल प्रवद्र्धन गर्न प्रतिबद्धता जनाएका छन् ।
संयुक्त पहलबाट प्रचार सामग्री र कार्ययोजना तयारी
त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, मणिराज लामिछाने, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा प्रमुख लक्ष्मण गौतम, जनसम्पर्क महाशाखा प्रमुख सुनिल शर्माले बोर्डले परराष्ट्र मन्त्रालय र नियोगसँग आवश्यक परामर्श गरी कार्यक्रमहरू तय गरिने जानकारी गराए । संयुक्त पहलबाट नेपालको प्रकृति, संस्कृति र विविधता प्रस्तुत गरिने भिडियो सामग्री निर्माण, वार्षिक कार्ययोजना तयार गर्ने लगायतका विषयमा छलफल भएको छ ।
पर्यटन फ्याक्ट सिट र विस्तृत प्रस्तुति
कार्यशालामा परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले नेपाल प्रवद्र्धनसम्बन्धी विस्तृत प्रस्तुति गरेको थियो । बोर्डको तर्फबाट वरिष्ठ अधिकृत कविन्द्र भट्टले नेपालको ‘पर्यटन फ्याक्ट सिट’ प्रस्तुत गरेका थिए, जसमा पर्यटन आगमन, विदेश मुद्रा आर्जन, भावी रणनीति लगायतका विषय समेटिएका थिए ।
लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसनका रूपमा नेपाल
प्रस्तुतिपछि सहभागी निकायबीच छलफलमा नेपाललाई विश्व बजारमा ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’ का रूपमा उभ्याउने प्राथमिक क्षेत्रहरू पहिचान गरिएको हो ।
एकीकृत राष्ट्रिय ब्रान्डिङतर्फ साझा निष्कर्ष
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभाग र पर्यटन विभागका महानिर्देशकहरू, नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिलाई एउटै राष्ट्रिय ब्रान्डिङ दृष्टिकोणमा जोड्दै एकीकृत प्रयासमार्फत नेपालको विश्वव्यापी छवि सुदृढ गर्ने साझा निष्कर्ष निकालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।











































