१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

लगानी ढाँचामा सहमति, निर्माण प्रक्रिया अगाडि

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो ।

राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । निर्वतमान उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस सहमतिले दशकौँदेखि प्रतीक्षामा रहेको परियोजनालाई ठोस रूप दिनुका साथै अब मन्त्रिपरिषद्बाट निर्णय हुने चरणमा पुयाएको बताएका छन् ।

आयोजनाको लागत र लगानी संरचना

यस आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । प्रस्तावित लगानी मोडालिटीअनुसार ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट पूँजी जुटाइने योजना बनाइएको छ ।

सरकारको इक्विटी र कर्जा व्यवस्थापन

सरकारको इक्विटी भागबाट ९७ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जा मार्फत १ खर्ब ५० अर्ब रुपैयाँ जुटाउने गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी हुने अपेक्षा छ । यसअघि सरकारले आयोजनामा गरेको ४५ अर्ब रुपैयाँ शेयर लगानीमा रुपान्तरण गरिनेछ ।

स्वदेशी लगानीमा आयोजना निर्माणप्रति आत्मविश्वास

घिसिङले भनेका छन्, ‘स्वदेशी लगानीमै यति ठूलो आयोजना बनाउन सकिन्छ भन्ने आत्मविश्वाससाथ यो मोडालिटी तयार गरिएको हो । वर्षौंदेखि अन्योल, बहस र प्रतिक्षामा सीमित रहेको बूढीगण्डकी अब निर्माणतर्फ अघि बढ्ने मोडमा आइपुगेको छ । अब ढिलाइ गर्ने छुट छैन, काम थाल्नै पर्छ ।’

ऊर्जा आत्मनिर्भरताको आधारका रूपमा बूढीगण्डकी

उनले थपे, ‘यो आयोजना केवल विद्युत उत्पादनका लागि मात्र होइन, देश आत्मनिर्भर बन्ने विश्वासको ठोस आधार पनि हो । मेरो ११५ दिनको कार्यकालमा यो उर्जा क्षेत्रमा भएको एउटा महत्वपूर्ण उपलब्धि हो ।’

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *