सिन्धुलीको बैंक डकैतीमा सात जना पक्राउ
रामेछाप । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैँक शाखामा भएको डकैती प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
योजनाबद्ध रूपमा गरिएको डकैती
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे योजनाबद्ध रूपमा बैँकभित्र प्रवेश गरेको डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो ।
गार्डमाथि खुकुरी प्रहार
डकैतहरूले खुकुरी देखाएर गार्ड र कर्मचारीलाई धम्क्याउँदै हातखुट्टा बाँधेका थिए भने मुखमा टेप टाँसिएको थियो । प्रतिकारको प्रयास गर्दा सुरक्षा गार्डमाथि खुकुरी प्रहारसमेत गरिएको र उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
विशेष प्रहरी टोली परिचालन
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा गार्ड र कर्मचारी दुई छुट्टाछुट्टै कोठामा बाँधिएको अवस्थामा फेला परेका थिए । उनीहरूको तत्काल उद्धार गरी उपचार तथा सुरक्षाको व्यवस्था मिलाइएको थियो ।
जंगलबाट नगद बरामद
त्यसै राति जंगलका विभिन्न स्थानमा बोरा र झोलाभित्र लुकाइएको १ करोड ५० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुई स्थानीय योजनाकार
अनुसन्धानबाट घटनामा स्थानीय दुई जनाले योजनाकारको भूमिका खेलेको खुलेको छ । प्रहरीका अनुसार घ्याङलेख गाउँपालिका–२ का छविलाल स्याङ्तान र चतुरमान बज्जु घटनाका मुख्य योजनाकार रहेको पुष्टि भएको छ ।
पक्राउ परेका व्यक्तिहरूको विवरण
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक उपत्यारा जगन्नाथ गाविस–२ घर भई हाल बनेपा नगरपालिका–१० बस्ने सवारी चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्जु र छविलाल स्याङ्तान, चितवन भरतपुर महानगरपालिका–२ का शशांक श्रेष्ठ, नुवाकोट पंचकन्या गाउँपालिका–५ का मिलन गिरी र विवेक मगर रहेका छन् ।
२ करोड ६६ लाखभन्दा बढी रकम बरामद
प्रहरीले हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद, दुई थान खुकुरी, एक थान नक्कली प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, नकाब तथा अन्य सामग्री बरामद गरेको छ ।











































