निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्षको असहमति
काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् ।
सानेपामा बसेको कार्यसमितिको बैठक
शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए ।
आयोगको निर्णय दुषित मनसायबाट प्रेरित
उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटिरुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित भएको बैठकले ठहर गरेको छ ।’
कांग्रेसलाई गम्भीर क्षति पुग्ने निष्कर्ष
यस्तो निर्णय दुर्भावनाबाट प्रेरित भएको र यसले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई गम्भीर क्षति पु¥याउने मनसाय स्पष्ट देखिएको बैठकको निष्कर्ष रहेको उनले बताए ।
लोकतान्त्रिक व्यवस्थामाथि आघात
उनका अनुसार बैठकले विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक रूपमा परिवर्तन गर्ने प्रयासलाई लोकतान्त्रिक व्यवस्थामाथिको आघातका रूपमा व्याख्या गरेको छ । साथै, उक्त निर्णय मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुर्घटनातर्फ धकेल्ने षड्यन्त्रको एक अंश भएको दाबी गरिएको छ।
संवैधानिक तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय
निर्वाचन आयोगको निर्णयप्रति कडा विरोध जनाउँदै बैठकले त्यसविरुद्ध संवैधानिक तथा कानूनी उपचारका साथै राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।
सर्वोच्च अदालत नै अन्तिम सुनुवाइ
आफूहरु आइतबार सर्वोच्च अदालत जाने र सर्वोच्च अदालत नै आफूहरुको अन्तिम सुनुवाइ गर्ने भएकाले रिट पेश गर्ने पनि बताए ।











































