आतुरीवाद : धैर्यको मृत्यु र विवेकको पलायन
आधुनिक समाजमा फैलँदो आतुरी मानसिकता
आजको विश्व एउटा साझा मानसिक अवस्थाबाट गुज्रिरहेको छ— आतुरीवाद। यो कुनै वैचारिक सिद्धान्त होइन, न कुनै राजनीतिक दर्शन; यो त आधुनिक मानव चरित्रमा मौन रूपमा बसेको हतारो हो। यही हतारोले आज मानिसलाई कामभन्दा परिणामप्रति, प्रक्रियाभन्दा प्रचारप्रति र मूल्यभन्दा दृश्यताप्रति आकृष्ट बनाइरहेको छ।
आज धेरैलाई काम गर्न मन छैन, परिणाम चाहिएको छ।
👉️चिन्ने धैर्य छैन, चिनाउनुपर्ने आतुरी छ।
👉️गर्ने समय छैन, गराउने चाहना छ।
👉️हिँड्ने साहस छैन, हिँडाउने लालसा छ।
👉️सिक्ने विनम्रता छैन, सिकाउने दम्भ छ।
यो व्यक्तिगत कमजोरी मात्र होइन; यो समूहगत पतनको संकेत हो।
प्रक्रियाप्रतिको अवहेलना र परिणामप्रतिको मोह
आतुरीवादको मूल समस्या के हो भने यसले मानिसलाई प्रक्रियाको सम्मान गर्न दिँदैन। इतिहास साक्षी छ । बीउ रोपेर भोलिपल्ट बाली फलेको छैन, विचार जन्मेर तुरुन्तै समाज बदलिएको छैन। तर आजको समाजलाई प्रतीक्षा असह्य भएको छ। सबै कुरा तुरुन्त, यहाँ र अहिले चाहिएको छ। नतिजा चाहियो, तर त्यसको मूल्य तिर्ने धैर्य छैन।
सार्वजनिक जीवनमा आतुरीवादको विषाक्त प्रभाव
यही आतुरी मानसिकताले आज सार्वजनिक जीवनलाई विषाक्त बनाएको छ। कुनै पनि समय, कुनै पनि क्षेत्रबाट उदाएका प्रायः सबै चर्चित व्यक्ति कुनै न कुनै क्षण “विदेशी एजेन्ट”, “दलाल” वा “माफिया” को आरोपबाट बच्न सकेका छैनन्। बहस गर्नु कठिन भयो, लेबल लगाउनु सजिलो भयो। सत्य भन्दा तर्क शक्तिशाली बन्यो, र प्रमाणभन्दा प्रचार प्रभावकारी बनाइयो।
इतिहासमा पनि देखिएको आतुरी चेतना
यो कुनै नयाँ प्रवृत्ति होइन। सुकरातलाई राज्यद्रोही ठहर गरियो, बुद्धलाई भ्रम फैलाउने ठानियो, नारद कहिले देवताको प्रिय त कहिले षड्यन्त्रकारी कहलाए। समस्या पात्रमा थिएन; समस्या सधैँ समयको आतुरी चेतनामा थियो। आज पनि फरक यत्ति हो—पहिले आरोप सभामा लाग्थ्यो, आज सामाजिक सञ्जालमा।
हतारोले जन्माएको निर्णय र विवेकको निष्कासन
आतुरी समाजमा व्यक्तित्व स्थिर हुँदैन। एउटै मान्छे हामीलाई बिहान रामजस्तो लाग्छ, बेलुका रावणजस्तो। कहिले भगवान, कहिले राक्षस। व्यक्ति बद्लिएको हुँदैन, हाम्रो निर्णय गर्ने हतारो बद्लिएको हुन्छ। सोच्न नपाउँदै निष्कर्षमा पुग्ने बानीले विवेकलाई निष्कासित गरिसकेको छ।
आत्मसमिक्षाको अभाव र दोषारोपणको संस्कृति
अझ चिन्ताजनक पक्ष त के हो भने अब दोषारोपण यति सामान्य भइसकेको छ कि त्यसले आत्मसमिक्षाको ठाउँ नै खाइदिएको छ। सबैले अरूलाई एजेन्ट देख्छन्, दलाल देख्छन्, माफिया देख्छन । तर आफुले आफैलाइ ऐनामा हेर्ने आँट कसैले गर्दैन। यही क्रमले एक दिन व्यङ्ग्य होइन, यथार्थ बन्न सक्छ ।आफैँले आफैँलाई विदेशी दलाल र माफियाको स्वघोषणा गर्ने दिन।
अन्ततः प्रश्न व्यक्तिको होइन, प्रवृत्तिको हो।
“सकिन्छ चुरीफुरी, रहन्छ कुरिकुरी,
जताततै किन चल्दैछ यस्तो हुरी?”
आतुरीवादबाट मुक्ति : धैर्य, प्रक्रिया र प्रश्न
यो हुरी बन्दुकको होइन, विचारको हो;
यो आँधी सीमाको होइन, चेतनाको हो।
आतुरीवादबाट मुक्ति कुनै एक व्यक्तिले दिन सक्दैन। यसको उपचार धैर्यमा छ, प्रक्रियामा छ, र प्रश्न गर्ने संस्कृतिमा छ। नत्र, हतारोले बनाएको यो समाजले एकदिन परिणाम त पाउनेछ तर अर्थ, मूल्य र सत्य गुमाएको हुनेछ।












































