✍️ भुवन सङ्गम
एकातिर “देश डुब्न लाग्यो, किनारा लगाइदेऊ” भन्दै आम सर्वसाधारण याचना गरिरहेका छन् भने, अर्को तिर स्वघोषित, जालझेल र कृपाबाट नेता बनेका तथा सत्ताको स्वाद चाखेका व्यक्तिहरू धमिलो खोलामा तर मार्ने दौडमा छन्। उनीहरू विभाजन र विखण्डनको खेतिलाई मलजल गर्दैछन्। देशका कलिला ७३ जना युवाको बलिदान र तिनको सपना बिर्सेर, राजनीतिक दलहरू आफ्नै तालमा नाचिरहेका देखिँदा देश अर्को दुर्घटनातर्फ धकेलिँदै गएको संकेत देखिन्छ।

काँग्रेसलाई देश र पार्टीभन्दा शेरबहादुर देउबा र उनको सत्तासंरचना जोगाउनु प्राथमिकता बनेको छ।
एमालेलाई देशभन्दा केपी ओली र उनको गुट जोगाउनु छ।
माओवादीलाई देशभन्दा प्रचण्ड र उनको प्रभाव जोगाउनु छ।
रास्वपालाई देशभन्दा रबि लामिछानेलाई जेलबाट निकालेर प्रधानमन्त्री बनाउनु छ।
राप्रपालाई देशभन्दा राजा फर्काएर राजेन्द्र लिङ्देनलाई सिंहदरबार पुर्याउनु छ।
बालेनको लक्ष्य अबको चुनावमा काठमाडौँको मेयर जितेझैँ सहजै प्रधानमन्त्री बन्ने र हिजोका प्रतिसोध फिर्ता गर्ने हो।
अरू साना–ठूला दल र अभियानहरू आफ्नो राजनीतिक रोजगारी जोगाउने धन्दामा छन्।
त्यसैले, अहिलेको अवस्थामा यी सबै नेताहरूबाट देशले के आशा राख्ने?
सबैको एउटै स्वार्थ छ — जनतालाई झुक्याउने, ठग्ने, र एकअर्कालाई विदेशी एजेन्टको आरोप लगाउँदै स्वार्थको रोटी सेकिरहने।

अब मात्र एउटा उपाय बाँकी छ —
हालका प्राय सबै राजनीतिक दलका पहिलो र दोस्रो पुस्ताका नेताहरूले सत्ता र नेतृत्व त्यागेर तेस्रो पुस्तालाई मौका दिनुपर्छ। यदि यस्तो कदम चालियो भने नेपाल विश्वलाई राजनीतिक संस्कारको नयाँ पाठ सिकाउने देश बन्न सक्छ। नेपाल र नेपालीको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको बाटो फराकिलो बन्नेछ।
देशको राजनीतिक डिस्कोर्स सुधार्न र आम नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउन Gen-Z बिद्रोह आवश्यक थियो, र त्यही बिद्रोहबाट बनेको शुशिला कार्कीको अन्तरिम सरकार पनि सही दिशामा थियो। तर अहिले त्यो म्यान्डेट बिर्सँदै बिखल्बन्दनमा परेको देखिन्छ। यदि यो अन्तरिम नेतृत्वले जिम्मेवारी बुझेको हो भने, उसले फेरि Gen-Z बिद्रोह, ७३ जना सहिद र हजारौं घाइतेहरूको म्यान्डेट अनुसारै काम गर्नुपर्छ।
देशले अपनत्वसहितको दिशा लिन यत्तिमात्र आवश्यक छ —
Gen-Z पुस्तासँग सहकार्य, सबै पक्षसँग समन्वय र सहहृदयता।
सत्ताको प्राथमिकता चुनाव गर्न होइन,
चुनाव अघि सुशासन सुनिश्चित गर्नु नै देशको पहिलो सर्त हो।











































