✍ डा. लक्ष्मीप्रसाद खतिवडा
वेदिक समाजको स्वरूपबारे आजसम्म पनि गम्भीर बहस चलिरहेको छ। कतिपय पश्चिमी विद्वानहरूले वैदिक समाजलाई hunter and gatherer समाज भनेका छन् भने अरूले यसलाई pastoral अर्थात् गोपालनमा आधारित समाज मानेका छन्। तर, वेदका मन्त्रहरू अध्ययन गर्दा ती दुई श्रेणीभन्दा धेरै परको विकसित सामाजिक संरचना प्रष्ट देखिन्छ।
वेदका कतिपय ऋचाहरूले आजको आधुनिक समाज जस्तै घर, सौन्दर्य, भान्सा, स्वागत कक्ष, बगैचा र पोखरीसम्मको कल्पना गरेका छन्।

१. सभ्य घरको परिकल्पना — ऋग्वेद ७.८८.५
“क्व१ त्यानि नौ सख्या बभूवु: सचावहे यदवृकं पुरा चित् ।
बृहन्तं मानं वरुण स्वधावः सहस्रद्वारं जगमा गृहं ते ॥”
अर्थ — हे वरुण, हे जीवनका स्वामी! हामी पहिले जसरी मित्रतापूर्ण र सुखपूर्वक बाँचेका थियौँ, त्यसरी नै बाँच्न सकौँ। हामीलाई सहस्र द्वार भएको, अर्थात् धेरै कोठा भएको विशाल घर प्राप्त होस्।
यसबाट प्रष्ट हुन्छ कि वैदिक समाजले ठूलो र व्यवस्थित आवासको परिकल्पना गरिसकेको थियो।
२. सौन्दर्यमय परिवेशको कल्पना — ऋग्वेद १०.१४२.८
“आयने ते परायणे दूर्वा रोहन्तु पुष्पिणी: ।
ह्रदाश्च पुण्डरीकाणि समुद्रस्य गृहा इमे ॥”
अर्थ — घरका बाटामा दुबो उम्रिएको होस्, फूल फुलेका होऊन्, घर वरिपरि कमल फुलेका पोखरीहरू (स्विमिङ पूलहरू) होऊन्।
यसबाट वैदिककालमा घरको सौन्दर्य र वातावरणप्रतिको सचेतना देखिन्छ।
३. कोठा व्यवस्थाको उल्लेख — अथर्ववेद ९.३.७
“हविर्धानमग्निशालं पत्नीनां सदनं सदः।
सदो देवानामसि देवि शाले ॥”
अर्थ — यस्तो प्रकाशमय घर होस् जसमा अन्नभण्डार (हविर्धान), भान्सा (अग्निशाला), गृहिणीको कोठा (पत्नीनां सदनम्) र अतिथिका लागि स्वागत कक्ष (देवानां सदः) होस्।
यसले वैदिक समाजमा पारिवारिक व्यवस्था र गृहसंरचना स्पष्ट रूपमा परिभाषित भएको देखाउँछ।
निष्कर्ष
यी उदाहरणहरूले देखाउँछन् कि वैदिक समाज केवल hunter and gatherer वा pastoral मात्र होइन, सभ्य, व्यवस्थित र सांस्कृतिक रूपमा परिष्कृत थियो। उनीहरूले घर, वातावरण, र सामाजिक सम्बन्धको सन्तुलित दृष्टिकोण राख्थे।
आजको दृष्टिले हेर्दा, वैदिक ऋषिहरूले केवल अध्यात्म नभई सभ्यता र मानवीय जीवनको सम्पूर्ण स्वरूपबारे गहिरो चिन्तन गरिसकेका थिए।











































