✍ भुवन सङ्गम
संस्कार सहितको अर्थतन्त्र: विश्वका शक्तिशाली नेताबाट सिक्ने समय नेपालका लागि
दुनियालाई नियाल्दा अहिलेको विश्व नेतृत्वले एउटा कुरा स्पष्ट देखाएको छ—संस्कारसहितको अर्थतन्त्रले मात्र राष्ट्रलाई समृद्धि र स्थायित्वतर्फ लैजान सक्छ। यही सोचले राष्ट्रको एकता र दीर्घकालीन नेतृत्वको बाटो तयार गर्छ, जुन नेपालका लागि पनि अब अनिवार्य सर्त बनेको छ।
चीनका राष्ट्रपति सि जिनपिङ: गरिबीमुक्त र प्रविधिमा आत्मनिर्भर चीन
सन् २०१३ मा चीनको नेतृत्व सम्हालेका सि जिनपिङले १२ वर्षको अवधिमा करिब १० करोड मानिसलाई गरिबीबाट मुक्त गराए। चीनको अर्थतन्त्र ९.६ ट्रिलियन डलरबाट बढेर १९ ट्रिलियन डलर पुग्यो। भौतिक पूर्वाधार, प्रविधि, उर्जा र ग्रामीण विकासमा चीन विश्वकै उदाहरण बन्न सफल भयो। अब चीन २०३० सम्म विश्वकै अग्रणी अर्थतन्त्र बन्ने लक्ष्यमा अघि बढिरहेको छ।
भ्लादिमिर पुटिन: अस्थिर रूसबाट स्थायित्वतर्फ
सन् १९९९ देखि निरन्तर सत्तामा रहेका पुटिनले रूसलाई आर्थिक रूपमा पुनर्जीवित गरे। सन् २००० देखि २००८ सम्म देशको आम्दानी पाँच गुणा बढ्यो। आज रूस तेल र ग्यास निर्यातमार्फत विश्वका धनी राष्ट्रहरूमा गनिन्छ। सैन्य र भू–राजनीतिक प्रभावमा पनि रूसले सशक्त स्थान बनाएको छ।
नरेन्द्र मोदी: आत्मनिर्भर भारतको यात्रामा
सन् २०१३ देखि भारतको नेतृत्व सम्हालेका नरेन्द्र मोदीले भारतको अर्थतन्त्रलाई विश्वको चौथो स्थानमा पुर्याए। Make in India, Digital India र Startup India जस्ता नीतिले रोजगारी, उद्योग र प्रविधिमा तीव्र विकास ल्याए। भारतको ४ ट्रिलियन डलरभन्दा बढीको अर्थतन्त्र अहिले विश्वकै द्रुत गतिमा अगाडि बढिरहेको छ।
नेपालको अवस्था: राजनीतिक अस्थिरताले अर्थतन्त्र थिलोथिलो
भारत र चीनजस्ता शक्तिशाली छिमेकीको बीचमा रहेको नेपाल अझै पनि अविकसित देशको रूपमा उभिएको छ। पछिल्लो दशकमा दस भन्दा बढी प्रधानमन्त्री फेरिए, तर परिणाम शून्य छ। राजश्व, ऋण र खर्चको असन्तुलनले अर्थतन्त्र कमजोर बनेको छ।
अर्थविद्हरूका अनुसार करिब ११ खर्ब राजश्व उठेर पनि तलब, भत्ता र ब्याज भुक्तानीमै देशको सारा स्रोत सकिन्छ। विकासका लागि ऋणमै निर्भरता बढ्दै गएको छ।
समाधान: वैदिक दर्शन र संस्कारसहितको अर्थतन्त्र
नेपालमा सुशासन, लगानीमैत्री वातावरण, उद्योगमैत्री नीति र आत्मनिर्भर उत्पादन प्रणालीको आवश्यकता अत्यावश्यक बनेको छ। अनुत्पादक संरचना हटाउँदै उत्पादनमुखी बजेट निर्माण र दलाल पूँजीवादमाथि नियन्त्रण गर्न सकिए मात्र अर्थतन्त्र सुदृढ हुन सक्छ।
नेपालको दीर्घकालीन निकास वैदिक सनातन दर्शनमा आधारित “संस्कारसहितको अर्थतन्त्र” को विकासमा छ, जसले आर्थिक, सामाजिक र नैतिक एकताको मार्ग प्रशस्त गर्न सक्छ।













































