मकवानपुर सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको खुल्यो पहिचान
दुर्घटनाको स्थान र अवस्था
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।
मृतकहरूको विवरण
दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मकवानपुर प्रहरीका अनुसार मृतकहरूमा:
-
भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनिस कुमार
-
मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सबिता लम्साल
-
हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल
-
भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ४९–५० वर्षीय अरबिन्द कुमार
यस्तै, तत्काल नाम, थर र वतन नखुलेका दुई जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।
घाइतेहरूको विवरण र उपचार
दुर्घटनामा घाइते हुनेमा:
-
सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा
-
दुर्घटनामा मृत्यु भएकी सबिता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल
-
रौतहट चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी
गम्भीर घाइते चालक गणेश थापा र बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ भने रिचा चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।











































