प्रधानमन्त्री शुसीला कार्कीले चौथोपटक मन्त्रिमण्डल विस्तार गर्दै चार नयाँ मन्त्री थपेकी छन्।
रक्षा श्रेष्ठ महिल तथा बालबालिका मन्त्री, माधव चौलागाईं वन मन्त्री, राजेन्द्र सिंह भण्डारी श्रम मन्त्री र कुमार इङनाम भूमि मन्त्रीमा सिफारिस भएका छन्।
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
‘जेन्जी–सरकार १० बुँदे सम्झौता नाटक मात्रै’ — पूर्व प्रधानमन्त्री केपी ओली
जेन्जी समूह र सरकारबीच बुधबार भएको १० बुँदे सम्झौतालाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाटक’ मात्र भएको टिप्पणी गरेका छन्।
उनले वर्तमान सरकारले चुनाव गराउन नसक्ने र संसद पुनर्स्थापना नै अन्तिम विकल्प भएको दाबी गरेका छन्।
जेन्जीसँगको सम्झौता नमानेको नेपाली कांग्रेस
जेन्जी र सरकारले गरेको सम्झौतालाई नेपाली कांग्रेसले नमानेको घोषणा गरेको छ।
सम्झौता कार्यान्वयन नहुने भएकाले यसको अर्थ नभएको बताउँदै कांग्रेसले जेन्जीलाई चुनावमार्फत जनमत लिन चुनौती दिएको छ।
भदौ २३–२४ घटनाबारे ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी
गत भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ।
बयान दिन नजान लेखकलाई ओलीले सुझाव दिएको समेत स्रोतले जनाएको छ।
डडेलधुराबाट देउवाको उम्मेदवारी एकल सिफारिस
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डडेलधुराबाट पार्टी सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ।
देउवा अन्तिम पटक निर्वाचनमा होमिने इच्छा भएको बताइएको छ।
एमालेको ११औँ महाधिवेशनमा विदेशी पाहुनालाई निम्ता नपाउने
नेकपा एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई निम्ता नपुर्याउने निर्णय गरेको छ।
तर विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पठाउन आग्रह गरिएको छ भने नेपालका १६ दलका प्रमुखहरूलाई निमन्त्रण दिइनेछ।
सल्लाहघारीमा महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा
एमालेको ११औँ महाधिवेशनका लागि भक्तपुरको सल्लाहघारीमा मञ्च निर्माण अन्तिम चरणमा पुगेको छ।
कार्यक्रम सुरक्षाका लागि १० हजार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको छ।
निर्वाचन आयोगले आज समानुपातिक दललाई चुनाव चिन्ह वितरण गर्दै
समानुपातिक तर्फ प्रतिस्पर्धा गर्न इच्छुक ९३ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएका छन्।
आयोगले आजै दलहरूलाई चुनाव चिन्ह वितरण गर्नेछ।
उज्यालो नेपाल पार्टीद्वारा प्रतिनिधिसभा उम्मेदवारीका लागि आवेदन माग
प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारका लागि पुस ३ गतेभित्र आवेदन दिन पार्टीले आग्रह गरेको छ।
आवेदकमा राजनीतिक प्रतिबद्धता, शैक्षिक योग्यता र पार्टीको सिद्धान्तप्रति विश्वास अनिवार्य हुने जनाइएको छ।
नेपाली सेनामा ३८८ पदका लागि दरखास्त खुला
नेपाली सेनाले भिडियोग्राफरदेखि पुजारीसम्म विभिन्न पद मिलाएर ३८८ कर्मचारी माग गरेको छ।
योग्यता पुगेका नेपाली नागरिकले आजदेखि पुस २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
ललितपुरमा पाँच सवारी ठोक्किँदा एकजनाको मृत्यु
ललितपुरको युएन पार्कस्थित बागमती करिडोरमा पाँच सवारी ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुने ४५ वर्षीय राजिव सिंह कानुन, न्याय तथा मामिला मन्त्री अनिलकुमार सिंहका भाइ भएको पुष्टि भएको छ।
सवारी चालकलगायत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्रिभुवन विमानस्थलमा थाइल्याण्डबाट गाँजा बोकेर आएको भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डबाट गाँजा बोकेर आएको २२ वर्षीय भारतीय नागरिक विसल कुमार पक्राउ परेका छन्।
पाल्पामा जिप दुर्घटना: ३ को मृत्यु, ८ घाइते
अरुण खोलादेखि रामपुर जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ८ जना घाइते भएका छन्।
पहिचान खुल्न बाँकी मृतकको शव प्रहरीले उठाएको छ।
Nepal Premier League: लुम्बिनी लाइन्स फाइनलमा
हिजो भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी लाइन्स NPL को फाइनलमा प्रवेश गरेको छ।
फाइनल भोलि TU स्टेडियममा सुदूरपश्चिम रोयल्ससँग हुनेछ।
दुई नेपाली चलचित्र आजदेखि प्रदर्शनमा
नेपाली कथानक चलचित्र ‘पिआर’ र ‘लोकन्ती’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएका छन्।
सुनको मूल्य आज प्रतितोला २,५६,६००, एकैदिन ३,५०० को वृद्धि
हिजोको तुलनामा प्रतितोला ३,५०० रुपैयाँले बढ्दै आज सुन २,५६,६०० रुपैयाँमा कारोबार भइरहेको छ।











































