बालाचतुर्दशीको धार्मिक महत्व: पशुपति क्षेत्र आजदेखि श्रद्धालुहरूको भीड

मंसिर ३ गते, मंगलबार मार्ग कृष्ण चतुर्दशी परेको छ। बिहान ९ बजेर १ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि औंसी सुरू हुने भएकाले आज नेपालभर बालाचतुर्दशी पर्व श्रद्धा र भक्तिभावसहित मनाइँदैछ। विशेषगरी पशुपतिनाथ क्षेत्र सतबीज छर्ने भक्तजनले भरिन थालेको छ।

यो पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ। पितृहरूको उद्धारका लागि मनाइने यो दिवसमा धान, जौ, गहुँ, चना, तिल, मकै, कागुनो लगायत सय थरी बीउ छर्ने परम्परा रहेको छ। भक्तजनले मार्गकृष्ण त्रयोदशीको रात पशुपतिको वरिपरि दीप प्रज्वलन गरी भजन–कीर्तनसहित जाग्राम बसेपछि भोलिपल्ट सतबीज छर्छन्।

पशुपतिमा सतबीज छर्नुको विशेष धार्मिक महिमा छ। पूर्व–पश्चिमबाट आएका भक्तजन विशेषगरी कैलाश, आर्यघाट, सूर्यघाट, गौरीघाट, गुह्येश्वरी, मृगस्थली, किराँतेश्वर लगायतका स्थानमा दिवंगत आत्माको नाममा सतबीज छर्ने गर्दछन्। जनविश्वासअनुसार भगवान् शिव मृगरूप धारण गरी विचरण गरेको स्थानमा बीउ छर्दा सुन दान गरेबराबरको पुण्य प्राप्त हुन्छ।

बालाचतुर्दशीसँग जोडिएका पुराना किंवदन्तीहरू अझै लोकप्रिय छन्। मृगस्थलीमा पार्वतीले शिवलाई चिन्न बीउ छरेको कथा होस् वा बालासुरको उद्धारका लागि सतबीज छरेको कथा, यी दुवैले बालाचतुर्दशीको महत्व झनै गहिरो बनाउँछन्।

धार्मिक ग्रन्थमा मार्गकृष्ण चतुर्दशीमा सतबीज छर्दा आधिभौतिक, आध्यात्मिक र आधिदैविक पाप नाश हुने विश्वास उल्लेख छ। तर हिन्दू शास्त्रअनुसार बरखीको वर्ष परेको परिवारका सदस्यले शिवालयमा पूजा तथा दर्शन गर्नु नहुने प्रावधान पनि छ।

आज पशुपति क्षेत्र बिहानैदेखि शतबीज छर्न आएका भक्तजनले भरिएको छ। दिवंगत पितृप्रति कृतज्ञता र लोककल्याणको कामना गर्दै बालाचतुर्दशी पर्व आज देशभर श्रद्धापूर्वक मनाइँदैछ।

  • Related Posts

    बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

    सिमरा विमानस्थलमा भव्य स्वागत सिमरा । उज्यालो नेपाल…

    Continue reading
    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १४७ रुपैयाँ नजिक

    नेपाल राष्ट्र बैंकद्वारा विनिमयदर सार्वजनिक काठमाडौं । नेपाल…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *