जेन्-जी पुस्ताको असन्तोष र नयाँ नेतृत्वको उदय
जेन्-जी पुस्ताको असन्तोष र त्यही भित्र नेतृत्वमा जन्मिएका सुदन गुरुङको चुनौती नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको गहिरो असन्तोष अब केवल गुनासोमा सीमित छैन। सडक, सामाजिक सञ्जाल र नागरिक बहसमा देखिएको सक्रियता विशेषतः जेन्-जी आन्दोलनका रूपमा सतहमा आएको छ। यो आन्दोलन कुनै दलको झण्डामुनि नभएर, पुस्तागत निराशा र वैकल्पिक खोजको अभिव्यक्ति हो। यही परिवेशमा सुदन गुरुङ एक प्रभावशाली संयोजकका रूपमा अगाडि आएका छन्।
सुदन गुरुङको उदय र नागरिक अभियान
गुरुङको उदय आकस्मिक होइन। ‘हामी नेपाल’ जस्तो नागरिक अभियानमार्फत विपत्ति व्यवस्थापन र सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले समयक्रममा युवाको असन्तुष्टिलाई संगठित आवाज दिने प्रयास गरे। जेन्-जी आन्दोलनको नेतृत्व गर्दै उनले देखाएको ऊर्जा र समन्वय क्षमताले उनलाई सार्वजनिक बहसको केन्द्रमा पुर्याएको छ।
आन्दोलनको भविष्य र नेतृत्वको प्रश्न
तर प्रश्न आन्दोलनको उचाइभन्दा गहिरो छ। यो आन्दोलन के स्थायी राजनीतिक परिवर्तनको आधार बन्न सक्छ? यही प्रश्नको उत्तर खोज्ने क्रममा सुदन गुरुङको भूमिका निर्णायक बन्दै गएको छ।
वैकल्पिक नेतृत्व र सम्भावित राजनीतिक समन्वय
रवि लामिछाने, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङजस्ता व्यक्तित्वहरू अहिले नेपाली समाजमा ‘वैकल्पिक नेतृत्व’ का रूपमा स्थापित छन्। उनीहरू एउटै राजनीतिक दलमा आएका छन , तिनामा जनविश्वासको एउटा साझा आधार अवश्य छ। यी शक्तिहरूलाई एउटै विम्बमा जोड्ने प्रयास सुदन गुरुङले थालेका छन्। यदि यो प्रयास परिपक्व भयो भने, यसले परम्परागत दल केन्द्रित राजनीतिलाई गम्भीर चुनौती दिन सक्छ।
विगतका अनुभव र संस्थागत चुनौती
तर यहाँ सावधानी आवश्यक छ। विगतमा पनि नागरिक आन्दोलनहरू उठे, उर्लिए र क्रमशः ओझेलमा परे। आन्दोलन व्यक्ति केन्द्रित हुँदा त्यसको दीर्घायु कमजोर हुने इतिहास हामीसँग छ। सुदन गुरुङ लगायत नयाँ पुस्तालागि सबैभन्दा ठूलो चुनौती भनेकै आन्दोलनलाई संस्थागत बनाउने र नेतृत्वलाई सामूहिक बनाउने हो।
जेन्-जी आन्दोलनका वैध प्रश्नहरू
सम्पादकीय रूपमा हामी के भन्छौँ भने जेन्-जी आन्दोलनले उठाएका प्रश्नहरू वैध छन्। बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अकर्मण्यता र जवाफदेहिताको अभाव आजको वास्तविक समस्या हुन्। तर समाधान केवल आक्रोश र नाराबाट मात्र सम्भव छैन। त्यसका लागि स्पष्ट दृष्टिकोण, नीति, संगठन र लोकतान्त्रिक अभ्यास आवश्यक छ।
आन्दोलन र राजनीतिबीचको कडी बन्ने प्रयास
सुदन गुरुङले आफूलाई ‘कडी’ का रूपमा प्रस्तुत गरिरहेका छन् जो आन्दोलन र राजनीति बीचको कडी। उनले रवि, बालेन र कुलमानजस्ता लोकप्रिय व्यक्तित्वलाई साझा न्यूनतम एजेन्डामा जोड्न सकेर जेन्जी आन्दोलन को नेतृत्वको भुमिका अब्बल बनाएका छ्न । यो नेपाली राजनीतिका लागि ऐतिहासिक मोड हुन सक्छ। तर यदि यो प्रयास व्यक्तिगत महत्वाकांक्षा वा अस्थायी लोकप्रियतामा सीमित रह्यो भने, जेन्-जी आन्दोलन पनि विगतकै स्वार्थ केन्द्रित राजनितिक भागबन्डामा सिमित हुने सूचीमा सीमित हुने खतरा रहन्छ।
समय, परिणाम र नागरिक अपेक्षा
अन्ततः निर्णय समयले गर्नेछ, परिणामले दिनेछ डेलिभरिले वकालत गर्ने छ । तर एउटा कुरा स्पष्ट छ जेन्-जीको आवाज अब बेवास्ता गर्न सकिँदैन। सुदन गुरुङ र उनका सहयात्रीहरू सतप्रयास नागरिक र भुइ मान्छेको आवाजलाई सस्थागत गर्ने कोषे ढुङ्गा बनोस । जिम्मेवार, संस्थागत र दीर्घकालीन परिवर्तनमा रूपान्तरण गर्न सकून्, आजको आवश्यकता र नागरिक अपेक्षा पनि यहि हो।












































