राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला
बदलिँदो विश्व राजनीति र नेपालको चुनौती
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्।
बीपीको नीति आज पनि मार्गदर्शक
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका हुन्।
महाशक्तिको दबाब बढ्दै गएको संकेत
उनले आज फेरि विश्व राजनीति महाशक्तिहरूको स्वार्थ र दबाबतर्फ उन्मुख भइरहेको भन्दै यस्तो अवस्थामा बीपीको विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रिय जिम्मेवारीको विषय
राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
‘राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको प्रष्ट छ । राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीतिभन्दा माथि सम्पूर्ण सार्वभौम नेपालीहरूको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ,’ उनले लेखेका छन् ।
कांग्रेसको एकता नै राष्ट्रिय एकताको आधार
कांग्रेसभित्रको एकता नै राष्ट्रिय एकताको पहिलो खुड्किलो भएको उल्लेख गर्दै उनले आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्यागेर भावी राष्ट्रिय निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए।
जनविश्वास गुम्दा पार्टीको सान्दर्भिकता संकटमा
जनताको विश्वास गुमे नेपाली कांग्रेसको सान्दर्भिकता नै संकटमा पर्ने चेतावनी पनि नेता कोइरालाले दिएका छन्।











































