विदेशी दलाल र एजेन्टको कथा हाम्रो समाजमा नयाँ होइन। वर्षौँदेखि दोहोरिँदै आएको यो आरोप वास्तवमा बाह्य शक्तिभन्दा बढी आन्तरिक असहजताबाट जन्मिएको मनोवैज्ञानिक त्रास हो। समस्या आफूभित्र छ भन्ने सत्य स्वीकार्न नसक्दा हामीले सधैँ दोष अरूलाई थोपर्ने सजिलो बाटो रोज्यौँ। इमानदार ठानिएका केही पात्रहरू पनि अन्ततः घरेलु राजनीतिक चन्डाल र स्वार्थी समूहको प्रभावमा परेका उदाहरणहरू प्रशस्त छन्। विचार, मुद्दा र आवश्यकता धेरै हदसम्म मिल्न सक्ने अवस्थामा पनि आपसी अहंकार, “सबै मेरो पछि लाग्नुपर्छ” भन्ने सोच, र आफू मात्र सही अरू सबै गलत भन्ने मनोवृत्तिले नेपाली राजनीतिलाई निरन्तर कमजोर बनाइरहेको छ।
आज मुलुक जति बिग्रिएको छ, त्यो कसैले बाहिरबाट बिगारेको होइन। अझ स्पष्ट भन्नुपर्दा, नेतृत्व गर्नेहरुकै कारणले यो अवस्था आएको हो। कसैसँग दीर्घकालीन निकासको स्पष्ट दृष्टि छैन, कसैसँग कार्यान्वयनयोग्य समाधानको खाका छैन। सबैसँग समस्याको सूची छ, तर समाधानको साझा योजना छैन। दशकौँ नेतृत्व गरेका शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, गगन थापा, महेश बस्नेतजस्ता नेताहरूले सत्ता त सम्हाले, तर देशलाई एउटै धरातलमा उभ्याउने न्यूनतम सहमति निर्माण गर्न सकेनन्। अर्कोतर्फ नयाँ भनिएका रवि लामिछाने, बालेन साह र कुलमान घिसिङप्रति जनतामा आशा देखिएको छ, तर ती आशाहरू संस्थागत राजनीतिक संस्कृतिमा रूपान्तरण हुने स्पष्ट बाटो अझै देखिँदैन।
यस अवस्थाको सबैभन्दा ठूलो असर जेन्जी पुस्ता र नेपाली बौद्धिक वर्गले भोगिरहेको छ। उनीहरू परिवर्तन चाहन्छन्, पारदर्शिता र जवाफदेहिताको राजनीति खोजिरहेका छन्। तर पुरानो सत्ता संरचना र नयाँ पात्रबीचको निरन्तर टकरावले उनीहरूलाई दिशाहीन बनाइरहेको छ। बौद्धिक वर्ग आलोचकको भूमिकामा सीमित देखिन्छ, समाधानको प्रक्रियामा निर्णायक हस्तक्षेप गर्न सकेको छैन। नेतृत्व वर्ग आत्मालोचना गर्न तयार छैन, समाज दोष थोपर्ने संस्कारबाट माथि उठ्न सकेको छैन। जबसम्म समस्या अरूमा होइन, आफैँमा खोजिँदैन, तबसम्म न पुरानाले बाटो छोड्छन् न नयाँले स्पष्ट दिशा देखाउन सक्छन्।
निष्कर्ष
अब नेपालमा राजनीतिक दल, जेन्जी पुस्ता, विभिन्न सामाजिक तथा राजनीतिक अभियानहरूले “म र मेरो नेतृत्व” भन्ने आग्रह त्यागेर राष्ट्रलाई केन्द्रमा राख्ने साझा न्यूनतम एजेन्डामा सहमत हुनैपर्छ। त्यो एजेन्डाको आधार व्यक्ति वा दल होइन, सुशासन, संस्थागत पारदर्शिता, आर्थिक आत्मनिर्भरता, गुणस्तरीय शिक्षा–स्वास्थ्य र न्यायिक निष्पक्षता हुनुपर्छ। पुराना दलहरूले सत्ता होइन, प्रणाली सुधारलाई प्राथमिकता दिने आत्मालोचना गर्नुपर्छ। नयाँ शक्ति र अभियानहरूले आक्रोश मात्र होइन, विचार मिल्नेहरूको एकतासहित नीति, संरचना र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नुपर्छ। जेन्जी पुस्ताले सामाजिक सञ्जालको आवेगबाट बाहिर निस्केर संगठित नागरिक दबाब, तथ्यमा आधारित बहस र निरन्तर निगरानीको भूमिका खेल्नुपर्छ। बौद्धिक वर्ग तटस्थ दर्शक होइन, समाधान र निर्माणको सहयात्री बन्नुपर्छ।
समाधान कुनै चमत्कारी पात्रमा होइन। समाधान सहकार्य, सम्झौता, समन्वय र संस्थागत सुधारको संस्कारमा छ। जहाँ सत्ता परिवर्तनभन्दा प्रणाली सुधार ठूलो लक्ष्य बन्छ, र “को आयो” भन्दा “के गरियो” भन्ने प्रश्न नै राष्ट्रिय राजनीति र नेतृत्वको मापदण्ड बन्छ।












































