भोट अब समर्थन होइन, जिम्मेवारी
अबको चुनावमा नागरिकले सोध्नुपर्ने मूल प्रश्न सरल छ—पार्टी बचाउने कि देश ? पार्टी बनाउने कि भविष्य ? किनकि भोट अब समर्थन होइन, जिम्मेवारी हो। हरेक उम्मेदवारसँग उसको धरातल के हो, उसले भोलि कुन दिशा दिन सक्छ, र नेतृत्वको हैसियतमा कति डेलिभरी गर्न सक्छ भन्ने प्रश्न नगरी हालिएको भोट भावनात्मक त हुन्छ, तर ऐतिहासिक हुँदैन।
नेपालको वास्तविक संकट के हो ?
नेपालको संकट ‘पार्टीभित्रको लोकतन्त्र कमजोर भयो’ भन्ने बहानामा सीमित छैन। हाम्रो वास्तविक संकट त युवाको तीव्र पलायन, आकाशिँदो महँगी, सेटिङमा चल्ने भ्रष्टाचार, र राज्य संयन्त्रप्रतिको गहिरिँदो अविश्वास हो। यी समस्या समाधान गर्न हामीसँग अब अर्को दशक कुर्ने समय छैन। तीस वर्षसम्म “पार्टीभित्रैबाट सुधार आउँछ” भनेर पर्खियौँ, तर हरेक पटक देखिएको सत्य के हो भने—प्रणालीले सुधारकलाई होइन, सुधारकले प्रणालीसँग सम्झौता गर्नुपर्यो।
केपी शर्मा ओली : पार्टी जोगाउने राजनीति
यही पृष्ठभूमिमा हेर्दा केपी शर्मा ओली नेपाली राजनीतिका सबैभन्दा चतुर खेलाडी हुन्। उनी पार्टी जोगाउन, सत्ता सम्हाल्न र समयअनुसार धार बदल्न असाध्यै सक्षम छन्। तर उनको राजनीति देशभन्दा पार्टी–केन्द्रित रह्यो भन्ने आरोपबाट मुक्त छैन। स्थिरता र राष्ट्रवादको भाष्य बलियो भए पनि, उनको शासनकालले युवालाई रोक्न सकेन, महँगी नियन्त्रण गर्न सकेन, र संस्थागत सुशासन निर्माण गर्न सकेन। भविष्यमा उनी ‘कसरी सत्ता चलाउने’ जान्ने नेता त रहन्छन्, तर ‘कसरी प्रणाली बदल्ने’ नेता बन्ने सम्भावना क्षीण देखिन्छ।
प्रचण्ड : परिवर्तनबाट सन्तुलनसम्म
प्रचण्ड परिवर्तनका नाममा उदाएका नेता हुन्, तर आज उनी परिवर्तनकै बोझ बनेका छन्। विद्रोहदेखि सत्तासम्मको यात्रा ऐतिहासिक भए पनि, उनका बारम्बार बदलिएका राजनीतिक गठबन्धनले विश्वास गहिरो रूपमा क्षतिग्रस्त बनाएको छ। उनी सधैं ‘सन्तुलनको राजनीतिज्ञ’ बने, तर देशलाई दिशा दिने स्पष्ट नेतृत्व कहिल्यै देखिएन। भविष्यमा पनि उनी निर्णायक भन्दा ‘निर्णय बनाउने गणित’ मै सीमित हुने संकेत देखिन्छ।
गगन थापा : आशा र चक्रको राजनीति
गगन थापा सुधारको भाषा बोल्ने, शिक्षित र सुसंस्कृत नेता हुन्। तर समस्या यहीँ छ—उनी एउटा चक्रभित्र छन्। पार्टी सुधार्न चाहने तर पार्टीकै संरचनाले बाँधिएको चक्र। उनका विचार आधुनिक छन्, तर कार्यान्वयन पुरानो प्रणालीमै अड्किएको छ। उनी ‘भोलिको प्रधानमन्त्री’ भन्दा बढी ‘भोलि पनि आशा बोकेर कुर्नुपर्ने नेता’ जस्ता देखिन्छन्। देशको संकट तीव्र हुँदा, उनको राजनीति अझै प्रक्रियामा अल्झिएको छ।
बालेन शाह : पार्टीभन्दा बाहिरको सम्भावना
यही सन्दर्भमा बालेन शाह फरक देखिन्छन्। उनी पार्टीभन्दा माथि उभिएको पात्र हुन्। नारा होइन, निर्णय; भाषण होइन, काम—उनको शैलीले यही संकेत गर्छ। उनी पूर्ण समाधान होइनन्, तर पुरानो राजनीतिक चक्रभन्दा बाहिरको सम्भावना अवश्य हुन्। उनको उदयले देखाएको सत्य के हो भने—जनताले अब अनुहार होइन, नतिजा खोज्न थालेका छन्। भावनामा होइन, व्यवहारिक नेतृत्वमा भरोसा गर्न थालेका छन्।
अबको राजनीति : पार्टी होइन, देश
अबको राजनीति पार्टी जोगाउने प्रतिस्पर्धा होइन, देश बचाउने साहस हो। पार्टी दोस्रो हुन सक्छ, तर देश कहिल्यै दोस्रो हुनुहुँदैन। यदि नेतृत्वले पार्टीका सीमाभन्दा बाहिर उभिएर निर्णय गर्न सक्दैन भने, त्यो नेतृत्व जतिसुकै योग्य देखिए पनि देशका लागि अपर्याप्त हुन्छ।
फागुन २१ पछि निर्णय कसले गर्छ ?
फागुन २१ पछि नेपाल कुन दिशामा जान्छ भन्ने फैसला नेताले होइन, मतदाताको विवेकले गर्नेछ। यदि हामीले अझै पनि अनुहार, झण्डा र पुरानै वाचा हेरेर भोट हाल्यौँ भने, इतिहास फेरि दोहोरिन्छ। तर यदि हामीले नेतृत्वको धरातल, डेलिभरी क्षमता र भविष्यको दिशा हेरेर छनोट गर्यौँ भने—त्यही दिनबाट नेपालको राजनीति बदलिन सुरु हुन्छ।
निष्कर्ष : निर्णय हाम्रो हातमा
दर्शक बृन्द निष्कर्षमा भनौ
फागुन २१ पछि
नेपाल कुन दिशामा जान्छ ?
त्यो निर्णय
ओलीले होइन, प्रचण्डले होइन, गगनले होइन,
बालेनले पनि होइन—
हामी मतदाताले गर्ने हो।
यदि तपाईंलाई पनि लाग्छ
अब समयले नेपाली माटो र नागरिकको जीवन चर्या अनुसारको राजनितिक दिशा खोजेको छ भन्ने लाग्छ भने
यो भिडियो सेयर गर्नुहोस्
यो बहस फैलाउनुहोस्
भावनामा होइन, विवेकमा भोट हाल्नुहोस्
यो कुनै नारा होइन।
यो कुनै पार्टी र नेताको प्रचार होइन।
यो हाम्रो अस्तित्वको लडाइँ हो।
फेरि पनि जित्नेलाइ स सम्मान काम गर्नलाइ साथ र सहयोग गरौं हार्नेलाइ सङ्ग सङ्गै लिएर जाने सु संस्कृत संस्कारको नमुना बनौं जय स्वभिमान ।











































