काठमाडौं — राजनीतिक स्थायित्व र सहमतिको नारासहित अघि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले आफ्नै आन्तरिक असन्तुलन र गुटबन्दीले रणभुल्लमा परेको देखिन्छ। सबै स्टेकहोल्डरलाई एकै ठाउँमा ल्याउँदै “राजा सहितको नवीन सम्झदारी” को रटान दोहोर्याइरहेको पार्टीभित्रै फेरि पुरानो रोग सतहमा आएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा चलिरहेको वर्तमान कार्यकालमा पुरानो राप्रपामा देखिएको आन्तरिक विवाद झन् गहिरिँदै गएको छ। जेन्जी आन्दोलनपछि देखिएको विभाजनको छायाले अहिले फेरि पार्टीभित्रको निर्णय प्रक्रियामा अवरोध ल्याइरहेको टिप्पणीहरू भइरहेका छन्।
यसैबीच, कार्तिक २७ र २८ गतेका लागि तय गरिएको राप्रपाको केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गतेका लागि सारिएको छ। सतही रूपमा हेर्दा यो केवल मिति परिवर्तन जस्तो देखिए पनि, भित्री असन्तुष्टिको सामाधान खोज्ने नेतृत्वको प्रयासका रूपमा बुझिएको छ। तर, बैठक जति ढिलो हुँदै जान्छ, पार्टीको अस्तित्वमाथिको संकट त्यति नै गहिरो हुँदै गएको विश्लेषण गरिएको छ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेतृत्वको मौनतामाथि प्रश्न उठाउँदै लेखेका छन्, “राप्रपाले अहिलेको राजनैतिक संकटकालीन अवस्थामा निरन्तर बैठक र नयाँ भिजनसहित जनतामा जानुपर्ने हो। तर, किन बारम्बार बैठक सारिँदैछ? नेतृत्व जवाफविहीन भएर बस्न मिल्दैन।” उनले पार्टीले युवाको उत्साह र नयाँ सोचलाई संगठित रूपमा प्रयोग गर्न नसक्दा विश्वासको संकट गहिरिँदै गएको बताए।
शाहीको भनाइ अनुसार, “हामी फरक राष्ट्रवादी विचारका पार्टी हौँ भन्ने दाबी गर्नेहरूले नै बैठकबाट भाग्नु विडम्बना हो।” उनको अभिव्यक्तिले राप्रपाभित्रको असमझदारीलाई सार्वजनिक रूपमा उजागर गरेको छ।
भ्रष्टाचारविरुद्धको कठोर भाषा, “भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो,” भन्ने उक्ति अहिले राप्रपाभित्रकै गतिविधिले गिज्याएको देखिन्छ। नेतृत्वले बोलेको आदर्श र देखिएको व्यवहारबीचको दूरीले पार्टीभित्र र बाहिर दुवैतिर आलोचना बढाएको छ।
राजेन्द्र लिङ्देनले कमल थापालाई अप्रत्याशित रूपमा महाधिवेशनमा पराजित गरेपछि नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको थियो। तर, सहकार्य र साझा यात्राको कुरा गर्दै आएका लिङ्देन आफ्नै टिमभित्र एकता कायम गर्न असफल भएको देखिन्छ। पार्टीभित्रका धेरै राजावादी र हिन्दुराष्ट्रवादी संगठनहरू अहिले पनि मुख्यधारमा जोडिन सकेका छैनन्।
धवल शम्शेरसँगको असहकार्य र आन्तरिक दूरीले राप्रपालाई पुनः बिखण्डनतर्फ धकेलिरहेको देखिन्छ। जनताको नजरमा लिङ्देनले स्थायित्व र वैचारिक बलको अवसर गुमाएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन्।
त्यो क्रममै लिङ्देनले भनेका छन्, “राजनीति योजना, रणनीति, इमान्दारिता र स्पष्ट मार्गचित्रको संयोजनबाट मात्र सम्भव हुन्छ। लोकप्रियतावाद र आत्मकेन्द्रित शैली दीगो हुँदैन।” उनले सबै युवालाई संयम र दीर्घ राजनीतिक दृष्टिकोण अपनाउन आग्रह गरेका छन्।
नेपालको वैचारिक राजनीतिमा पुरानै सोच, उस्तै नेतृत्व र उही पदमुखी प्रवृत्तिले राप्रपालाई पनि जकडिएको अवस्था छ। जब देशमा सत्ताधारी शक्तिबाट सिर्जित राजनीतिक संकट आउँछ, त्यस बेला वैकल्पिक धारा दाबी गर्ने दलले त्यसको जिम्मेवारी लिन नसक्नु नै लोकतन्त्रको दुर्भाग्य हो।
यदि राप्रपाले अहिलेको अवसर समात्न सकेन भने, फेरि पनि गुटबन्दी र नेतृत्व संघर्षले पार्टीलाई कमजोर बनाउने निश्चित देखिन्छ। राप्रपाको अस्तित्व र विश्वसनीयता अबको केन्द्रीय बैठक र त्यसमा हुने निर्णयमा निर्भर रहनेछ।











































