रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आवेदन खुला र उद्देश्य
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो।
जारी पूँजी र स्थानीय बासिन्दा लक्षित शेयर
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। सो आईपीओमा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा दोर्दी गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
आवेदन सीमा र प्रक्रिया
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
आयोजनाको क्षमता र लागत
रिज लाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ। उक्त जलविद्युत आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो र उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री भइरहेको कम्पनीले जनाएको छ।
आवेदनका लागि स्थान र अनलाइन सुविधा
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले रिज लाइन इनर्जीको आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन आवेदन प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ।










































