अस्पतालबाटै शव हराएको घटनाले क्षेत्र तनावग्रस्त
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।
गोलबजारमा चक्का जाम
घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइयो, तर हरायो
रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।
किशोरीको मृत्युअघि अवस्था
गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले घटनालाई प्रारम्भिक रूपमा आत्महत्या मानेर मुचुल्का उठाई पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो।
अस्पतालमा शव नपाएपछि घटनामा नयाँ मोड
मृतकका आमा–बुबा रोजगारीका सिलसिलामा भारतमा रहेकाले हिजो शव बुझ्न अस्पताल पुगेका थिए। तर अस्पतालमा शव फेला नपरेपछि घटनाले नयाँ मोड लिएको हो।
घटनामा रहस्यमयता र छानबिनको माग
शव हराएको घटनालाई आफन्त तथा स्थानीयले अत्यन्तै रहस्यमय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयका अनुसार निशा मृत्यु हुनु अघिल्लो दिन लहानकै एक युवकको घरमा बसेकी थिइन् र उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। त्यहाँबाट घर फर्किएको केही समयमै आत्महत्या भएको भनिए पनि मृतकको शरीरमा चोटपटक देखिएको दाबी गरिएको छ।
स्थानीय र शिक्षकको प्रतिक्रिया
स्थानीय आनन्द लामाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘लहानबाट फर्किएपछि आत्महत्या हुनु र त्यसपछि अस्पतालबाटै शव हराउनु गम्भीर विषय हो। घटनामा कतै न कतै मिलेमत्तो देखिन्छ, निष्पक्ष छानबिन हुनुपर्छ।’
त्यस्तै, स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम नै नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए। उनले यस घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे।
वडा अध्यक्षको चेतावनीपछि सडक खुल्यो
गोलबजार नगरपालिका–३ का वडा अध्यक्ष धनप्रसाद लामाले आज बिहान १० बजेसम्म शव सहिसलामत उपलब्ध नगराइए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएपछि स्थानीयले अस्थायी रूपमा सडक खुलाएका थिए।
अस्पताल र प्रहरी प्रशासनको प्रतिक्रिया
यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय लहानका प्रमुखसँग सम्पर्क गर्दा फोन उठेन। अस्पताल प्रमुख डा. रञ्जित झासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ रहेको थियो।
अस्पताल पुगेका एक पत्रकारका अनुसार शव हराएको जानकारी बाहिरिएपछि डा. झा क्वाटरमै लुकेर बसेका थिए। पछि स्वास्थ्यकर्मीको आग्रहमा बाहिर आए पनि उनले शव ‘मिसप्लेस’ भएको भन्नेबाहेक अन्य कुनै स्पष्ट जवाफ दिएका छैनन्।
निष्पक्ष छानबिन र दोषी कारबाहीको माग
घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको मागसहित स्थानीयमा आक्रोश बढ्दो छ।











































