एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
बाजुरा । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।
युवा संघ र अनेरास्ववियुको संयुक्त तालाबन्दी
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पुराना उम्मेदवारलाई टिकट दिएको विरोध
पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।
नरेश रोकायालाई टिकट नदिएको असन्तुष्टि
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र सिंगो एमाले बाजुरेली युवाहरुमाथी खेलवाड गरिएको उनीहरुको भनाई छ ।
नयाँ अनुहारको माग, लालबहादुर थापा सिफारिसपछि आक्रोश
युवाहरुले यस पटकको निर्वाचनमा एमालेका नयाँ अनुहारलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरु आक्रोशित भएका हुन् ।











































