मिति २०८२ साल कार्तिक ६ गते कार्तिकशुक्ल द्वितीया तिथी राति ८:२४ बजेसम्म रहँदा त्यसपछि तृतीया तिथि आरम्भ भएकोले यो दिन तिहारको अन्तिम र सबैभन्दा आत्मीय दिनका रूपमा मनाइन्छ। भाइटीका दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह र सम्मानको प्रतीक पर्व हो।

यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई विधिपूर्वक पूजाआजा गरेर दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्छिन्। दाजुभाइले पनि दिदीबहिनीप्रति प्रेम, कृतज्ञता र आदर प्रकट गर्दै उपहार र दक्षिणा अर्पण गर्छन्।
पौराणिक कथाअनुसार मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनालाई भेट्न पृथ्वीमा आएका थिए। यमुनाले भाइटीकाको दिन दाजुलाई पूजा गरेर आत्मीय सम्मान दिएकी थिइन्। त्यसबेलादेखि नै यो परम्परा सुरु भएको बताइन्छ।
हिन्दू धर्मअनुसार यमपञ्चकका पाँच दिन यमराज यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ। भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्ने चलन छ। बिमिरो, ओखर, तेल, मखमली र दूबोको प्रयोगले भाइबहिनीबीचको आत्मीयता र सद्भाव झल्काउँछ।
भाइटीकाको तयारी अघिल्लो दिन नै सुरु हुन्छ। दिदीबहिनीले पान, सुपारी र फूल पठाएर दाजुभाइलाई निमन्त्रणा गर्छन्। बिहान स्नान गरेर अष्टचिरञ्जीवीको पूजा गरी दियो, कलश र गणेशको पूजन गरिन्छ। त्यसपछि बिमिरा र ओखरको पूजा गरी दाजुभाइको मंगलकामना गरिन्छ।
दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाइदिन्छन्— मखमली, सयपत्री र दूबोका माला पहिराइदिन्छन्। यी फूल र दूबो कहिल्यै ओइलाउँदैनन्, जसरी भाइबहिनीको सम्बन्ध पनि कहिल्यै मर्दैन भन्ने सन्देश यसले दिन्छ।
ढाकाको टोपी लगाउने परम्परा पनि यतिबाटै आएको हो, जसले दाजुभाइको आयु र गौरव वृद्धि गर्छ। टीका लगाएपछि मिठा परिकार, रोटी र सगुन आदानप्रदान गरेर आनन्दपूर्वक यो पर्व मनाइन्छ।
दाजुभाइ वा दिदीबहिनी नभएकाहरू काठमाडौंको रानीपोखरीस्थित मन्दिरमा गएर पूजा गर्छन्।
हिन्दू दर्शनका अनुसार टीका मात्र रङ होइन, आशीर्वाद र आत्मिक आनन्दको प्रतीक हो। रातो टीका प्रेम र समर्पण जनाउँछ भने पहेंलो टीका समृद्धि र सौभाग्यको चिन्ह हो।
पूर्वीय दर्शनले प्रकृतिका सबै तत्वलाई पूजनीय मानेको छ। भाइटीका पनि त्यही अध्यात्मिक र वैज्ञानिक दृष्टिकोणको प्रतीक हो, जसले सम्बन्धलाई आत्मियता र बिबेकसहित बाँध्ने अवसर प्रदान गर्छ।
✍️ लेखक: पं. बालमुकुन्द देबकोटा











































