दिनभरका खबर छिन भरमा !

नेकपा एमालेको ११औं महाधिवेशन आजबाट भक्तपुरको सल्लाहगारीमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरे। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उद्घाटन समारोहमा अध्यक्ष ओलीले पार्टीको वर्तमान अवस्था, आगामी कार्यदिशा र राष्ट्रिय राजनीतिका विषयमा सम्बोधन गरे।

महाधिवेशनमा प्रमुख शीर्ष दलका नेताहरूको उपस्थिति भने सीमित रह्यो। कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित रहे। तर दोस्रो तहका नेताहरू तथा अन्य केही दलका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका छन्।

महाधिवेशन प्रतिनिधिहरूलाई देशको समग्र अवस्था बुझेर आगामी नेतृत्व चयन गर्नुपर्ने सुझाव पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकी छन्। यसैबीच, मनोनीत प्रतिनिधिको सूचीप्रति अध्यक्षका दावेदार ईश्वर पोखरेलले गम्भीर असन्तुष्टि जनाएका छन्, जसले आन्तरिक बहसलाई थप चर्काएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक अवस्थालाई सहज निकास दिन निर्वाचन आवश्यक रहेको बताएका छन्। उनले राजनीतिक परिवर्तनपछि अब देश आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

राजसंस्थाबारे राप्रपाले जनमत संग्रहभन्दा पनि सबैको सहमतिबाट पुनर्स्थापना हुनुपर्ने निष्कर्ष निकालेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी रगतको बाटो नभई सहमतिको बाटो पछ्याइरहेको स्पष्ट पारेका छन्।

जेन्जी प्रदर्शनका क्रममा उश्रृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारबाट सर्कुलर जारी भएपछि प्रहरी कार्यालयहरूमा थुनामा रहेका व्यक्तिहरू क्रमशः रिहा भइरहेका छन्।

सामाजिक सञ्जाल आचारसंहिता विपरीत बर्दी लगाएर फोटो र भिडियो पोस्ट गरेको आरोपमा २१२ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। बर्दीको दुरुपयोग गरेको ठहरसहित उनीहरूमाथि विभागीय कारबाही गरिएको हो।

बीरगञ्जमा ३७ वर्षीय कैदी अनिल महतोको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका छन्। उपचारमा लापरवाही भएको आरोप लगाउँदै उनीहरूले अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।

ललितपुरस्थित अन्तर्राष्ट्रिय क्लबमा ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी आजबाट सुरु भएको छ। प्रदर्शनीमा साना, मझौला तथा घरेलु उत्पादनका ४० भन्दा बढी स्टल सञ्चालनमा छन्।

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकका ६० वर्षीय भगवाकृष्ण घिमिरे रहेका छन्। दूध बिक्रीका लागि डेरी जाने क्रममा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।

रौतहटबाट स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका ३६ वर्षीय मुनाप्रसाद रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दाङमा फोहोरमैला व्यवस्थापन केन्द्रमा आगलागी हुँदा करिब ३६ लाख रुपैयाँ बराबरका मेसिन तथा औजारमा क्षति पुगेको छ। आगलागीको कारणबारे अनुसन्धान जारी छ।

खेलकुदतर्फ, नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणको फाइनल खेल आज त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने छन्। विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

मनोरञ्जन क्षेत्रमा, नेपाली कथानक चलचित्र मनबिनाको धन पाँचौं हप्तामा पनि प्रदर्शनरत छ। चलचित्रलाई अमेरिकामा समेत प्रदर्शन गर्ने तयारी निर्माण टिमले गरेको जनाएको छ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *