नेकपा (एमाले) को चालु केन्द्रीय कमिटी बैठकले पार्टीको संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गरेको छ। बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने, पदाधिकारी संख्या १९ जना कायम गर्ने र स्थायी कमिटी तथा पोलिटब्युरोको संरचना समेत स्पष्ट गरेको हो।
बैठकका अनुसार पदाधिकारीमा ५ जना उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव रहनेछन्। यसैगरी स्थायी कमिटी केन्द्रीय कमिटीको एक तिहाइ र पोलिटब्युरो ९९ सदस्यीय रहने निर्णय गरिएको छ।
यी प्रस्तावहरू ११औँ महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्द सत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने एमालेले जनाएको छ।
यसअघि ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको थियो। वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष १ पद खारेज गर्दै सचिव पद थप गरी १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरिएको हो।
संशोधित प्रस्ताव अनुसार अब पार्टीमा ५ जना उपाध्यक्ष र ९ जना सचिव रहने व्यवस्था हुनेछ।











































