विदेशी षड्यन्त्रको कथा र नेपाली राजनीतिक असफलता | सम्पादकीय

सम्पादकिय:- भुवन सङ्गम

नेपाली राजनीतिक विमर्शमा विदेशी षड्यन्त्रको लोकप्रिय कथा

नेपाली राजनीतिक विमर्शको पछिल्ला दिनहरूमा एउटा अचम्मको कथानक निकै लोकप्रिय हुँदै गएको छ । त्यो कथानक अनुसार देशमा हुने प्रायः सबै राजनीतिक घटना, नेतृत्वको उदय, आन्दोलन, लोकप्रियता र परिवर्तन कुनै न कुनै “विदेशी डिजाइन”को परिणाम हुन् । कोही मेयर बन्छ भने विदेशले जिताइदिएको, कोही लोकप्रिय बन्छ भने विदेशी पैसाले बनाएको, कोही नेता उठ्छ भने कुनै दूतावासको प्रयोगशालामा तयार गरिएको । यसरी हेर्दा नेपाली जनता आफैँ निर्णय गर्न नसक्ने, विवेकहीन, सजिलै किनिने–बेचिने भीड मात्र ठहरिन्छन् । यो दृष्टिकोण केवल अरूलाई होच्याउने होइन, आफ्नै नागरिकको अपमान पनि हो ।

इतिहासमा दोहोरिँदै आएका लज्जास्पद आरोपहरूको सूची

इतिहासमा यसरी लज्जास्पद आरोप हरु स्थापित गरिन्छ :-
अमेरिकाले नेपालको प्रधानमन्त्री बनाउन बालेनलाई दश-पन्ध्र वर्ष अगाडि नै ऱ्याप सिकायो !
-रूटिन अफ नेपाल बन्ददेखि एमआरआर ग्रुप तैयार गर्यो ! तिनमा नेपाली युवालाई जोडिन लगायो !
-रवि लामिछानेलाई अमेरिकाबाट नेपाल पठायो !
-उनलाई टिभीमा जागीर खोजिदियो र लोकप्रिय बनायो !
-कुलमान घिसिंगलाई लोडसेडिंग अन्त्य गर्न लगायो र जनताको आँखामा बसायो !
-सुशीला कार्कीलाई कानुन पढ़ायो र प्रधानन्यायाधीश बनायो !
-ओमप्रकाश अर्याललाई वकिल बनायो !
-सुदन गुरुङ्लाई अभियानकर्मी बनायो !
-बालेनलाई मेयरमा जितायो !
-मिचिएका सार्वजनिक सम्पत्ति खोज गर्न लगायो र लोकप्रिय बनायो !
-स्वर्णिम वाग्ले र मनीष झाहरूलाई कांग्रेसबाट रास्वपा पठायो !
-कांग्रेस-एमाले र माओवादीलाई घूस खाएर, भागबंडा गरेर देशका संवैधानिक संस्थालाई कमजोर बनाउन प्रेरित गर्दै अलोकप्रिय बनायो !
-म्याजिक नम्बर भन्दै तेस्रो भएर पनि सधै माओवादीलाई सरकार प्रमुख बनायो !
-कांग्रेस र एमालेलाई एकै ठाउँमा ल्याएर जनतालाई विद्रोही बनायो !
-मन्त्रीले घूस खाएको अडियो नै बाहिर आउँदा पनि ढाक छोप गर्न लगायो !
-एक्काइसौं शताब्दीको यो खुला युगमा सरकारलाई सोसल मिडिया बन्द गर्न उक्सायो !
-देशभरका युवालाई आन्दोलन गर्न मच्चायो र सुदनलाई पानी बाँड्न खटायो !
-आन्दोलन चर्को बनोस् भन्दै पछाडि बसेर एकै दिन सत्तरी जना युवालाई ढलायो !
-भोलिपल्ट देशभर आगो लगायो !
-हेलिकप्टर पठाएर भएका सबै नेतालाई भागाभाग बनायो !
-संविधान नफेर्ने भन्दै सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो !
-फागुनमा चुनाब गर्ने प्लान बनायो !
-रवि लामिछानेलाई धरौटीमा छुटायो !
-बालेन, कुलमान र रविलाई एकै ठाउँ पुऱ्यायो !
-देशविदेशका लाखौं नेपालीलाई गोजीमा पैसा हालिदिएर तिनको समर्थन गर्ने बनायो !
-देशका कलाकारदेखि व्यवसायीसम्म सबैलाई मिलियन-मिलियन डलर दिएर किन्यो !
-कांग्रेसलाई महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्न रोक्यो !
-२१ गते देशको ठूलो मतदातालाई नयाँ चिन्हमैं मत दिउँ दिउँ बनाउनेछ !
-त्यसपछि अमेरिकी सरकार बन्नेछ र नेपाल भन्ने देश कठपुतलीमा रूपान्तरण हुनेछ । नरहन पनि सक्छ !

असफलता ढाक्न प्रयोग हुने षड्यन्त्र सिद्धान्त

राजनीतिमा असफलता ढाकछोप गर्ने सबैभन्दा सजिलो उपाय भनेकै षड्यन्त्र–सिद्धान्त हो । चुनाव हार्नु पर्‍यो भने जनताको मत गलत, विदेशी चलखेल । लोकप्रियता घट्यो भने आत्मालोचना होइन, विदेशी डिजाइन । शासन चलाउन नसक्दा नीति र क्षमताको समीक्षा होइन, अन्तर्राष्ट्रिय षड्यन्त्र । यसरी हेर्दा नेपाली राजनीतिको “सिद्धान्त” भनेको विचार, नीति वा दर्शन होइन; गद्दारीको परिभाषा बदलिरहनु मात्र जस्तो देखिन्छ । हिजो जो गद्दार थियो, आज उही राष्ट्रवादी । हिजो जसलाई देश बेच्ने भनियो, आज उसैसँग सत्ता साझेदारी । अनि भोलि फेरि नयाँ “गद्दार” खोजिनेछ ।

गद्दारीको भाष्य र हराउँदै जाने जनताका मुद्दा

रोचक त के छ भने, यही गद्दारीको भाष्य नै नेपाली राजनीतिमा सबैभन्दा स्थायी विचार बनेको छ । भ्रष्ट, अक्षम वा असफल भन्नु पर्याप्त हुँदैन; जबसम्म ‘देश बेच्ने’, ‘विदेशीको गोटी’ र ‘दलाल’ भन्ने शब्द जोडिँदैन, तबसम्म बहस नै पूरा हुँदैन । दुई–चारवटा शक्तिराष्ट्रलाई गाली गर्न नआए, केही रहस्यमय षड्यन्त्रको कथा बनाउन नसके, मानौँ राजनीति नै नबुझिएको ठहर्छ । जनताका दैनिक समस्या, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषय भने यस हल्लाभित्र हराइरहन्छन् ।

जनताको विवेकमाथि प्रश्न र लोकतन्त्रको आत्मा

अझ गम्भीर कुरा के हो भने, यो सोचले जनतालाई दोषी बनाउँछ । जनताले फरक विकल्प रोजे भने उनीहरू “बहकिएका”, “किनिएका” वा “प्रयोग भएका” ठहरिन्छन् । आफ्नै कमजोरी स्वीकार्नुको सट्टा नागरिकको विवेकमाथि प्रश्न उठाइन्छ । तर लोकतन्त्रको आत्मा नै जनताको छनोट हो । त्यो छनोट मन नपरे पनि त्यसको सम्मान गर्न सक्नु नै राजनीतिक परिपक्वता हो । जनतालाई सधैँ मूर्ख ठान्ने नेताले अन्ततः आफूलाई नै अविश्वसनीय बनाउँछन् ।

इतिहासले देखाएको गद्दारीको लेबलको राजनीति

इतिहास हेर्दा पनि देखिन्छ—नेपाली राजनीतिमा सबै दलले आ–आफ्नो समयमा अरूलाई गद्दार भनेका छन् । कांग्रेसका लागि कम्युनिष्ट गद्दार थिए, कम्युनिष्टका लागि कांग्रेस प्रतिक्रियावादी । माओवादी आन्दोलनका बेला अरू सबै राष्ट्रघाती ठहरिए । पछि त्यही गद्दारहरू मिलेर सरकार बने । त्यसैले गद्दारीको लेबल सत्यभन्दा बढी राजनीतिक सुविधाको औजार बनेको छ । आज फेरि उही पुरानो औजार नयाँ पात्रविरुद्ध प्रयोग हुँदैछ ।

वास्तविक प्रश्न, आत्मालोचना र राष्ट्रवादको अर्थ

वास्तविक प्रश्न भने अर्कै हो । किन जनतामा आक्रोश छ ? किन निराशा बढेको छ ? किन पुराना दलहरूप्रति विश्वास घटेको छ ? यसको जवाफ विदेशी षड्यन्त्रमा होइन, वर्षौँको कुशासन, भ्रष्टाचार, भागबण्डा र अवसरवादमा खोज्नुपर्छ । तर त्यो जवाफ खोज्न साहस चाहिन्छ—आत्मालोचना चाहिन्छ । दुर्भाग्यवश, त्यो साहस भन्दा षड्यन्त्र कथा सुनाउनु धेरै सजिलो छ ।
सधैँ यस्तो कथा कति बिक्ला ? सधैँ नागरिकलाई बिकाऊ र मूर्ख ठानिरहन कति सम्भव होला ? कुनै दिन जनता साँच्चिकै प्रश्न गर्न थाल्दा, गद्दारीको कथा होइन, कामको हिसाब माग्न थालेपछि के जवाफ दिने ? राष्ट्रवाद अरूलाई गाली गरेर होइन, देशभित्र न्याय, सुशासन र अवसर सिर्जना गरेर बलियो हुन्छ । जबसम्म त्यो बुझिँदैन, गद्दार खोज्ने राजनीति चलिरहनेछ । तर त्यो राजनीति आफैँ जनताबाट क्रमशः टाढिँदै जानेछ ।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *