रोजगारमूलक दक्ष जनशक्ति उत्पादनका लागि महासंघ सक्रिय नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं,  ४  मंसिर २०८२
देशभर रोजगारमूलक तथा उद्योग–व्यवसायमैत्री दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच पाँच वर्षका लागि महत्वपूर्ण समझदारीपत्र (MoU) सम्पन्न भएको छ। महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल र विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यराज आचार्यले औपचारिक रूपमा हस्ताक्षर गरे।

यस सहकार्यअन्तर्गत पाठ्यक्रम आधुनिकीकरण, संयुक्त अनुसन्धान, तालिम तथा सीप विकास कार्यक्रम, विद्यार्थी इण्टर्नशिप, रोजगारीका अवसर विस्तार र उद्योग–व्यवसायको आवश्यकता अनुसार दक्ष जनशक्ति विकास जस्ता महत्वपूर्ण क्षेत्रमा दुवै संस्थाले सहकार्य गर्नेछन्। विश्वविद्यालयभित्र उद्योगमैत्री शैक्षिक कार्यक्रम विकास गर्ने र व्यावहारिक सिकाइलाई बढावा दिने लक्ष्य पनि सम्झौतामा समावेश गरिएको छ।

अध्यक्ष ढकालले वर्तमान समयमा ठूलो संख्यामा युवा विदेशिन बाध्य भइरहेको स्थितिमा स्वदेशमै गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति उत्पादन अत्यावश्यक बनेको बताए। उनले विश्वविद्यालयसँगको यस साझेदारीले युवालाई उद्यमशील बनाउन, नयाँ रोजगारी सिर्जना गर्न र उद्योग–व्यवसाय क्षेत्रले आवश्यक पर्ने सीपयुक्त जनशक्ति उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

रजिष्ट्रार आचार्यले विश्वविद्यालयको शैक्षिक संरचनालाई उद्योगसँग प्रत्यक्ष जोड्ने यस सहकार्यले शिक्षामा गुणस्तर र व्यावहारिकता बढाउने बताए। उनका अनुसार, संयुक्त अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट स्वदेशमै समाधानमुखी प्रविधि र ज्ञान उत्पादन गर्न सकिनेछ।

महासंघले यस्ता सार्थक सहकार्यलाई निरन्तर अघि बढाउँदै देशको आर्थिक रूपान्तरणमा योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ।

  • Related Posts

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

    नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *