काङ्ग्रेस भित्र शेरबहादुर देउवाको खराब अवसान : दोस्रो विशेष महाधिवेशनले हल्लाएको नेतृत्व

सम्पादकिय

काङ्ग्रेस भित्र शेर बा. देउवाको खराब अवसान

दोस्रो विशेष महाधिवेशन र नेतृत्वमाथिको दबाब

काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनको सन्दर्भले अहिले पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा पनि गहिरो तरंग पैदा गरेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको अग्रपंक्तिमा उभिँदै गर्दा यो महाधिवेशन औपचारिक कार्यक्रमभन्दा बढी “दिशा परिवर्तन” को बहस बनेको देखिन्छ। आम काङ्ग्रेसी कार्यकर्ता र समर्थकबीच नयाँ नीति, स्पष्ट वैचारिक धार र पुस्तान्तरणमार्फत उदाउने नेतृत्वप्रतिको चाहना तीव्र छ। यही चाहनाले अहिलेको नेतृत्व संरचनामाथि प्रश्न उठाइरहेको छ । त्यसको केन्द्रमा सभापति शेरबहादुर देउबाको लामो राजनीतिक यात्राको मूल्याङ्कन स्वाभाविक रूपमा जोडिन पुगेको छ।

शेरबहादुर देउवाको राजनीतिक यात्रा र विवाद

शेरबहादुर देउबाको राजनीतिक जीवन नेपाली लोकतन्त्रको उतार–चढावसँग गहिरो रूपमा गाँसिएको छ। पञ्चायतविरोधी आन्दोलनदेखि बहुदलीय व्यवस्थाको स्थापना, माओवादी सशस्त्र द्वन्द्वकालीन कठिन निर्णयहरूदेखि संघीय गणतन्त्रसम्म आइपुग्दा उनी पटक–पटक सत्ताको केन्द्रमा रहे। चारपटक प्रधानमन्त्री बन्ने अवसर पाउनु आफैंमा उनको राजनीतिक चातुर्य र संगठनभित्रको पकडको प्रमाण हो। तर यही लामो सत्तारोहणसँगै अस्थिर सरकार, संसद् विघटनको विवाद, निर्णयमा ढिलासुस्ती र “यथास्थितिवाद” को आरोप पनि उनको राजनीतिक छायाँ बनेर पछ्याइरह्यो।

पुस्तागत द्वन्द्व र Gen Z को असन्तुष्टि

आजको सन्दर्भमा देउबामाथि उठिरहेको आलोचना केवल व्यक्तिगत असन्तुष्टि होइन, पुस्तागत र वैचारिक अन्तरको परिणाम हो। जेन्जी (Gen Z) आन्दोलनको खप्की यसैको प्रतीक हो। जहाँ युवाहरू पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई प्राथमिकता दिन चाहन्छन्। उनीहरूका लागि पुरानो शक्ति सन्तुलन, गुट–उपगुटको राजनीति र न्यूनतम परिवर्तन पर्याप्त छैन। यही कारण देउबाको नेतृत्व “खराब राजनीतिक अवसान” तर्फ उन्मुख भएको छ। जहाँ सम्मानजनक विदाइभन्दा पनि दबाब र आलोचना बीचको अन्त्यको संकेत देखिन्छ।

देउवाको योगदान र कमजोरी

तर इतिहासले प्रायः नेताहरूलाई एकै रङमा चित्रित गर्दैन। देउबाको अवसानबारे निष्कर्ष निकाल्नु अघि उनले लोकतन्त्र जोगाउन खेलेको भूमिका, अन्तर्राष्ट्रिय सन्तुलनमा देखाएको व्यवहारिकता र संकटका बेला लिएको जिम्मेवारीलाई पनि स्मरण गर्नुपर्ने हुन्छ। यद्यपि, समयको माग बुझेर नेतृत्व हस्तान्तरण गर्न नसक्नु, नयाँ विचारलाई संस्थागत गर्न हिच्किचाउनु र जनअपेक्षासँग दूरी बढ्नु नै उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो कमजोरीका रूपमा देखा परेका छन्।

काङ्ग्रेसको भविष्य र नयाँ नेतृत्वको संकेत

यस अर्थमा, काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशन कुनै एक व्यक्तिको उदय वा पतनको कथा मात्र होइन; यो पार्टीले आफूलाई २१औँ शताब्दीको जनआकांक्षासँग कसरी पुनःसंयोजन गर्छ भन्ने निर्णायक मोड हो। गगन थापा र विश्वप्रकाश शर्माको सक्रियताले त्यो सम्भावनाको ढोका खोलेको छ भने, शेरबहादुर देउबाको यात्राले सत्ता, अनुभव र समयबीचको सन्तुलन नगुमाउँदा कस्तो अवसान हुन्छ भन्ने गम्भीर पाठ छोड्दैछ। यही द्वन्द्व र संक्रमणको बीचबाट नै नेपाली काङ्ग्रेसको भावी पहिचान निर्माण हुने देखिन्छ।

निष्कर्ष :-
नेतृत्वले पद, भागबन्डा त्याग गर्न सकेन भने अहिले सम्मको भएको पनि प्रतिष्ठा र बिरासत कसरी गुम्दो रहेछ भन्ने कुरा काङ्ग्रेस सभापती शेर बा. देउवालाई हेरे पुग्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *