फेसबुक बन्द भए जनसंख्या बढ्ने पक्का || फेसबुकको कारण सरकार ढल्दै।

नेपाल सरकार ले अदालतको परमादेशलाई टेकेर लोकप्रिय सामाजिक सञ्जालहरू फेसबुक, whatsapp , instagram आदिहरु लाई नेपालको कानुन अनुसार दर्ता गर्न र दर्ता नगरे बन्द गरिदिने धम्की दिएसँगै अहिले देशमा फेसबुकको भबिस्यका बिषयमा विभिन्न अडकल बाजिहरु काटिन थालेका छन।

अब के साँच्चै नेपाल सरकारको डरले फेसबुक लगायत अन्य डिजिटल मिडियाको माउ कम्पनी मेटाले नेपालमा उसको कम्पनी दर्ता गर्ला त? कि नेपाल को निरीह सरकारले यो उसलाई तर्साउन मात्रै खोजेको हो?

कि सरकारले आफ्नो अडान छोडला र केही दिन पछि फेरि फेसबुक चल्ला? कि प्रधानमन्त्री केपी ओली चाइना गएर आएपछि नेपालको झुकाव चाइनातिर बढी हुन थालेकाले अमेरिकन कम्पनी मेटा बन्द गर्ने साहस गरेका हुन त? यसले नेपाली जनताको दैनिकीमा के फरक पार्ला? फेसबुकको इतिहास के हो?

facebook banned

अहिले- हाम्रा दालभात डडेपनि, हिँड्दा हिँड्दै बाटोमा लडेपनि र छोराछोरीले नपढेर सडे पनि – बिहान भालेको डाँको देखि ,राति लाटो कोसेराको आवाज नसुनिन्जेलसम्म कोही सिरकमा लुकेर, कोही अर्काको घरमा ढुकेर त कोही बाँसको लिङ्गो झैँ झुकेर – सुखमा- दुःखमा/ घरमा- वनमा/ बालकदेखि -आर्यघाट जान लागेका उमेरसम्मकाले वाइफाइ र डाटा किन्ने पैसा नभए बरु दुई छाक खाना नखाएर पनि दिनदिनै छिनछिनै चलाइरहने डिजिटल प्लेटफर्मको नाम हो फेसबुक।


आजभन्दा झण्डै २१ वर्षअघि अर्थात् सन् २००४ मा हवार्ड विश्वविद्यालय अमेरिकाका मार्क जुकरबर्ग लगायत अन्य चारजना साथीहरु मिलेर यो डिजिटल प्लेटफर्मको निर्माण गरेका थिए। सुरुमा the facebook नाम राखेर सुरु गरेका यो प्लेटफर्म पछि द हटाएर फेसबुक मात्रै रह्यो। आज पनि संसारमा यही नामले परिचित छ।

सुरुका दिनहरूमा अमेरिकाको केही विश्वविद्यालयमा मात्र खुला गरिएको यो प्लेटफर्म पछि परिमार्जित र विस्तार हुँदै संसारभर फैलँदै गयो। फेसबुकसँगै अन्य याप म्यासेन्जर, whatsapp, instagram पनि यही कम्पनीका लोकप्रिय सिस्टर कम्पनीहरू हुन्। यसरी चल्दै गरेको फेसबुक कम्पनीले सन् २०२१ मा App को नाम फेसबुक नै राखेर कम्पनीको नाम भने परिवर्तन गरी meta राख्यो।

Social media band


यसरी सन् २००४ मा अमेरिकाबाट निस्केको यो फेसबुक नेपालमा भने सन् २००७/ ८ अर्थात् झन्डै १७/ १८ वर्ष पहिले भित्रिएको थियो। सुरुवाती दिनहरूमा विदेशतिर बस्ने युवा युवतीहरूले चलाउन सिकेर प्रयोगमा ल्याएको यो प्लेटफर्म पछि सन् २०१० मा फेसबुक चलाउन मिल्ने स्मार्टफोन सस्तोमा नेपाली बजारमा आएपछि भने यसको प्रयोग नेपालका गाउँ गाउँसम्म फैलिन पुगेको हो।

हालका दिनसम्म आइपुग्दा झन्डै नेपालका आधा जनसंख्याले अर्थात् १ करोड ३० लाख जतिले यो प्लेटफर्म प्रयोग गरिरहेका छन् र यो नै नेपालमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल पनि हो। यसले मनोरञ्जनका साथै आपत्कालीन समाचार ,ज्ञान गुणका कुरा, कहीँ कतै घटेका घटनाको ताजा जानकारी र विभिन्न सामानहरूका बारेमा जानकारी दिइ किन्न र बेच्न पनि सहयोग गरिरहेको छ।

यसरी धेरै नेपालीले विभिन्न कारणले दैनिक प्रयोग गरी रमाइरहेको यो सोसियल मिडिया सरकार भने जनताको भावनाको कुनै कदर नगरी किन बन्द गर्न उद्दत छ? बन्दै गर्नुपर्ने स्थिति कसरी आएको हो? आउनुहोस् एकैछिन यो पनि जानिहालौं।

Social mediia in nepal

facebook कम्पनी र नेपाल सरकारको सुरुका दिनहरूमा कहि कतै केही मतभेद थिएन। तर सन् २०२१ मा अर्थात् झण्डै चार वर्ष अगाडि अधिवक्ता द्वय विष्णुभक्त प्रसाद गौतम र अनिता बजगाईले र पछि टेलिभिजन महासङ्का महासचिव मनोज गुरुङले नेपालमा चलिरहेका सम्पूर्ण डिजिटल मिडियाहरु नेपालको कानुन बमोजिम दर्ता भएर मात्र नेपालमा चलाउन पाउनुपर्छ र दर्ता प्रक्रिया पुरा नगरे त्यस्ता कम्पनी चल्न नदिने ब्यबस्था गरि पाउ भनी सर्वोच्च अदालत मा रिड दायर गरे।

पछि सर्वोच्चले पनि मुद्दा  सुनुवाइ गरि मुद्दा दर्ता गर्नेहरूकै पक्षमा निर्णय गरि सरकारको नाममा परमादेश जारी गरी सरकारलाई दर्ता गराएर मात्र चलाउन पाउने व्यवस्था लागू गर्नु भनेपछि यो विषय अहिले सतहमा आएको हो। नेपाल सरकारको तर्फबाट सूचना तथा प्रविधि मन्त्रालयले २०८० सालमा सामाजिक सञ्जाल निर्देशिका ल्याएर यस्ता कम्पनीहरुलाई बारम्बार दर्ता गर्न अनुरोध गरिरहेको पनि छ ।

सरकारको यस्तो आदेश केही डिजिटल मिडियाले माने र दर्ता गरे भने मेटा लगायत अन्य केही कम्पनीले भने सानो बजार र गरिब देश भन्दै आजसम्म पनि अटेर गरिरहेका छन्।


कताबाट, कुन शीर्षकमा, के भनेर, कसरी थर्काएर बढीभन्दा बढी राजस्व असुल्न सकिन्छ भनेर दिनरात सोचिरहने नेपाल सरकार पनि अहिले सहजै आफ्नो यो निर्णयबाट पछि हट्ने मुडमा देखिन्न र परिआए बरु केही दिनलाई नै किन नहोस् चेतावनी दिन यी कम्पनी बन्द नै गर्ने पक्षमा छ।

meta banned

हाम्रा गण्डकी प्रदेशतिर घर भएका ,आफ्ना मात्रै कुराको लिडी ढिपी गरिरहने र पत्रकार र अरुका कुरा खास सुन्न नचाहने मन्त्री महोदयले त बन्द गर्छौ भन्दै पहिले देखि नै निकै ठूलो डाँको छोड्नुभएको छ। हेरौं अब उहाँको बोलीमा कत्तिको दम छ।
हुन त आज गए राति १२ बजेबाट बन्द गर्छु भन्नुभएको थियो अहिले उहाँले बन्द गर्छु भनेको समय पनि बितेर १८ / २० घण्टा भइसक्यो अहिलेसम्म बन्द भएको छैन।

अहिले को विश्व दुई ध्रुवीय शक्तिमा बाँडिँदै गएको अबस्थामा दुई शक्ति मध्यको एक को प्रमुख प्रतिनिधित्व गर्ने चीनको भ्रमणबाट हिजो मात्र हाम्रा प्रधानमन्त्री स्वदेश फर्केर आउदा कहीँ कतै चिनियाँ रष्ट्रपती सि जिन पिङले त्यो अमेरिकाको फेसबुक नेपालमा बन्दै गर्नपर्छ गरेनौ भने तिम्रो सरकार बन्द गरिदिन्छु भनेको भए चाहिँ बन्द पनि हुन सक्छ ।

तर अहिलेको सरकारले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको कुटनीतिको गोटी बनेर नेपालमा फेसबुक बन्द गर्यो भने झन्डै डेढ करोड जनताको भने विश्वास र मत गुमाउने पक्का छ। के विश्व भूराजनीतिक शक्ति बाँडफाँडमा नेपाल अमेरिकी कित्ताबाट छुटेर चिनिया कित्तामा सर्लक्क छिरेकै हो त? यसले नेपालबाट अमेरिका जानेहरू को भिसाका लागि कस्तो असर पार्ला?

अमेरिकन सरकारले पहिले नै नेपालबाट अमेरिका जान चाहाने कुनै पनि नेपालीको फेसबुक आइडी अनलक हुनुपर्छ भनेर पहिले नै घुमाउरो पाराले फेसबुक बन्द गरिस भने खबरदार भन्ने सन्देश दिइसकेको छ। यसरी सरकारको कानुन र मेटा कम्पनीको हटले नेपाली जनताले चाहिँ पाउनु भन्दा धेरै गुमाउने नै छन्।

किनकि अहिले धेरै नेपालीहरुले फेसबुकबाट राम्रै आम्दानी गरिरहेका छन्। यी दुई साँढेको लडाईमा नेपाली जनता अर्थात् बाछोको मिचाइ नहोस्। दुवै पक्षले संयमता अपनाई विन विन को सिद्धान्त अवलम्बन गरी यो समस्या दीर्घकालसम्म पनि नबल्झने गरी छिट्टै समाधान होस् भन्ने शुभकामना सहित, हवसत नमस्कार ।

Hot News : गोविन्द नागिला।

Related Posts

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न, भावी नीति र कार्यदिशा तय गर्न महत्वपूर्ण सुझाव

नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सम्पन्न काठमाडौं, प्रहरी…

Continue reading

Leave a Reply

Your email address will not be published. Required fields are marked *