विश्वकप सुरु भएसँगै अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह, हालसम्म २० हजारभन्दा बढी साइट बन्द

फिफा विश्वकप सुरु भएसँगै नेपाल प्रहरीले सर्वसाधारणलाई अनलाइन बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन आग्रह गरेको छ। खेलकुदका ठूला प्रतियोगिताको समयमा अवैध सट्टेबाजी र बेटिङ गतिविधि बढ्ने भएकाले सचेत रहन प्रहरीले चेतावनी दिएको हो।

 

 

प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा अनलाइन बेटिङ सञ्चालन गर्ने समूहहरूले सामाजिक सञ्जाल तथा डिजिटल विज्ञापनमार्फत छिटो र सजिलै पैसा कमाउन सकिने प्रलोभन देखाएर मानिसहरूलाई आकर्षित गर्ने गरेको उल्लेख गरिएको छ। यस्ता समूहहरूले सुरुआतमा थोरै रकम लगानी गर्न लगाई केही आम्दानी भएको आभास गराउने र पछि ठूलो रकम ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।

घरमै बसेर न्यून लगानीमा ठूलो आम्दानी गर्न सकिने भन्दै प्रचार गरिने विज्ञापनका कारण धेरै मानिस आर्थिक ठगीको सिकार हुने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनलाइन बेटिङको असर केवल आर्थिक क्षतिमा सीमित रहँदैन। यसले पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ।

नेपाल प्रहरीले अनलाइन जुवा र बेटिङ नेपाली कानुनअनुसार गैरकानुनी रहेको पनि स्मरण गराएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार जुवा तथा सट्टेबाजीसम्बन्धी गतिविधि निषेध गरिएको छ।

प्रहरीले विश्वकपलाई अवैध आर्थिक लाभ उठाउने माध्यम नबनाउन आग्रह गर्दै अनलाइन बेटिङ प्लेटफर्म सञ्चालन गर्ने वा त्यसमा अन्य व्यक्तिलाई आबद्ध गराउने व्यक्ति तथा समूहबारे जानकारी भएमा सम्बन्धित निकायलाई सूचना दिन समेत अनुरोध गरेको छ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जेन–जेड आन्दोलनपछिको निर्वाचनमा विजयी भएपछि सार्वजनिक गरेको १०० दिने कार्ययोजनाअन्तर्गत अनलाइन बेटिङ प्लेटफर्म बन्द गर्ने योजना अघि सारेको थियो। सोहीअनुसार गत मार्च २७ देखि यस्ता वेबसाइटहरूमा पहुँच रोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिइएको थियो।

तर, पुराना साइट बन्द गरिएपछि सञ्चालकहरूले नयाँ डोमेन सुरु गर्ने र प्रयोगकर्ताहरूले भिपिएन (VPN) को प्रयोग गर्ने गरेका कारण पूर्ण रूपमा नियन्त्रण गर्न चुनौती रहेको अधिकारीहरूले बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणको प्रशासन तथा अनुमतिपत्र निर्देशनालयका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म २० हजारभन्दा बढी अनलाइन जुवा तथा बेटिङ प्लेटफर्महरू बन्द गरिसकिएको छ।

  • Related Posts

    डिउटीमा लापरबाही हुदा कैदिको मृत्यु भए पछि, सात जना नेपाल प्रहरीलाई जन्मकैद

    असार ०३, काठमाडाैं कारागारभित्रै कैदीको मृत्यु भएपपछि अदालतले…

    Continue reading
    खुट्टा भाच्ने मन्त्री चाहिदैन भन्दै निर्माण व्यबसायी पुगे सिहदरबार

    असार ०३, काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *