कैलालीमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो भाइरल भएपछि चर्कियो आलोचना

कैलालीको गोदावरी नगरपालिकामा वन कार्यालयका कर्मचारीहरूले सडक छेउमा राखिएको एउटा टेम्पोलाई भीरबाट धकेलेर खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि व्यापक आलोचना भएको छ।

 

उक्त घटनाप्रति सर्वसाधारणदेखि सांसदहरूसम्मले आपत्ति जनाएका छन्।

शनिबार भएको घटनाको भिडियोमा डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान निकालेर त्यसलाई सडक किनारको भीरबाट तल धकेलेको देखिन्छ।

स्थानीयका अनुसार उक्त टेम्पो गोदावरी नगरपालिका–४ निवासी ४४ वर्षीया धनादेवी धामीको हो। उनले भीमदत्त राजमार्गअन्तर्गत गैमारे डाँडानजिकै सोही टेम्पो प्रयोग गरेर सानो व्यवसाय सञ्चालन गर्दै आएकी थिइन्। धामीले टेम्पोलाई घर लैजान दिन पटक–पटक अनुरोध गरे पनि कर्मचारीहरूले नमानेको बताएकी छन्।

“उनीहरूले पहिले सबै सामान निकालिदिए। मैले अब त्यहाँ व्यापार नगर्ने भन्दै टेम्पो घर लैजान दिन आग्रह गरेँ, तर कसैले सुनेनन् र भीरबाट खसालिदिए,” धामीले भनिन्। “घटनास्थलमा धेरै मानिसले भिडियो खिचिरहेका थिए, तर कसैले रोक्न सकेन।”

धामीका अनुसार उनी टेम्पोबाट चिया, अण्डा, चाउचाउ र पानी बिक्री गरेर दैनिक ४ देखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्थिन्। उनका छोराहरू भारतको बेङ्गलुरुमा रोजगारीमा छन् भने उनी श्रीमान् र जेठी बुहारीसँग बस्दै आएकी छन्।

यता वन कार्यालयले भने उक्त कार्य अतिक्रमण हटाउने अभियानअन्तर्गत गरिएको दाबी गरेको छ।

सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले उक्त टेम्पो एक महिनाअघि नै हटाइएको र त्यो सञ्चालनयोग्य सवारी साधन नभएको बताए। “उक्त टेम्पो चल्ने अवस्थामा थिएन। स्क्र्याप बनेको टेम्पोलाई अस्थायी टहरा बनाएर पसल सञ्चालन गरिएको थियो,” उनले भने।

वन कार्यालयका अनुसार अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकिएको छ।

घटनापछि सामाजिक तथा राजनीतिक वृत्तमा बहस सुरु भएको छ। आलोचकहरूले टेम्पोलाई भीरबाट खसाल्नुको सट्टा कानुनी प्रक्रिया अपनाएर नियन्त्रणमा लिनुपर्ने तर्क गरेका छन्।

  • Related Posts

    विश्वकप सुरु भएसँगै अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह, हालसम्म २० हजारभन्दा बढी साइट बन्द

    फिफा विश्वकप सुरु भएसँगै नेपाल प्रहरीले सर्वसाधारणलाई अनलाइन…

    Continue reading
    बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग

    बालेनलाई हामीले बनायौं — राजनीतिक श्रेयको पुरानो रोग…

    Continue reading

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *