जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन : रमेश लेखक
गृहमन्त्रीको कुनै लिखित वा मौखिक आदेश छैन
काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् ।
कानुनी अधिकार अनुसार बल प्रयोग नगर्ने स्पष्टिकरण
सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन् ।
सुरक्षा निकायको जिम्मेवारी र निर्णय प्रक्रिया
उनले भने,‘प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अवस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिति तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने जानकारी गराए ।’
हिंसात्मक घटनाको विश्लेषण
प्रदर्शनमा व्यापक घुसपैठ हुँदा दुखद् घटना घटेको उनको ठम्याई छ । ‘धमिलो पानीमा माछा मार्न चाहने’ तत्वले जेन–जीको भावना माथि खेलेर सुनियोजित रुपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको उनको भनाइ छ ।
लोकतन्त्र, विचार अभिव्यक्ति र नागरिक अधिकारको संरक्षण
लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताका लागि लामो राजनीतिक जीवन व्यतित गरेको, नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यताबाट दिक्षित भएको कार्यकर्ता साथै संविधानमा नागरिकको शान्तिपूर्ण प्रदर्शन, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता र आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित वा अवरोध गर्ने बिषय आफूले सोच्न पनि नसक्ने उनले बताए ।
गृहमन्त्रीको नैतिक जिम्मेवारी र राजीनामा
लेखकले देशमा अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिदै तत्काल राजीनामा गर्ने निर्णय गरेको बताए । आफ्नो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक घटना जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय रहेको धारणा राखे ।




































