कांग्रेस निर्वाचनबाट भाग्दैन् तर वातावरण बनाउनुपर्छ : डा. शेखर कोइराला
काठमाडौं
नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् ।
लोकतान्त्रिक पार्टी निर्वाचनबाट नभाग्ने
मंगलबार मोरङ्ग समाज, काठमाडौं (मोसोका) को २६ औं वार्षिक साधारण सभामा उनले निर्वाचनबाट एउटा लोकतान्त्रिक पार्टी हार्न सक्ने सम्भावना भएपनि आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताए ।
निर्वाचनका लागि सरकारको भूमिका आवश्यक
प्रहरी प्रशासनको मनोबल गिरेको अवस्थामा निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्ने पनि उनको भनाई छ ।
उनले भने,
‘देशमा निर्वाचन हुने अवस्था छ कि छैन् भन्ने प्रश्न महत्वपूर्ण छ । हामी निर्वाचनबाट भाग्दैनौं । एउटा लोकतान्त्रिक पार्टी हार्छ वा हार्नसक्छ तर निर्वाचनबाट भाग्दैनौं । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नु पर्यो, शान्ति सुरक्षा दिन सक्नुपर्यो । शान्ति सुरक्षा छ कि छैन् भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ र प्रहरी प्रशासनको मनोबल आजको दिनमा धेरै नै गिरेको छ ।’
प्रहरीको मनोबल बढाउनुपर्ने आवश्यकता
नेपाली सेना तेस्रो घेरामा मात्रै बस्ने तर बुथमा सुरक्षा दिने भनेको प्रहरी नै भएकाले उनीहरुको मनोबल बढाउनुपर्ने पनि उनको भनाई छ ।
जेनजी आन्दोलनबारे चेतावनी
साथै, उनले एमाले र नेपाली काङ्ग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन नभएको भन्दै अब के के हुन सक्छ त्यो कुरामा विचार गर्नुपर्ने बताए ।
उनले भने,
‘सरकार हटाउनको लागि मात्रै जेनजी आन्दोलन भएको र जेनजीहरुले ज्यान गुमाएको हो त ? एमाले र नेपाली काङ्ग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन भएको हो त ? होइन नि । त्यो विद्रोह आधा मात्र भएको छ । आधा हुन बाँकी नै छ र त्यसमा के के हुनसक्छ त्यो कुरा हामीले विचार गर्नु पर्छ ।’
कार्यक्रममा अन्य नेताहरुको उपस्थिति
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, पूर्वकेन्द्रीय सदस्य रामकृष्ण भट्टराई, मोरङ समाज काठमाडौका अध्यक्ष ओम मास्केलगायतले आफ्नो धारणा राखेका थिए ।




































